मङ्कीपक्स नेपालमा फैलन सक्ने भन्दै सावधानी अपनाउनु पर्छ : स्वास्थ्य मन्त्रालय


काठमाडाैं – मङ्कीपक्सको सङ्क्रमण फैलिन सक्ने भन्दै सरकारले विशेष सावधानी अपनाउन आग्रह गरेको छ । अहिले विश्वमा मङ्कीपक्सको सङ्क्रमण फैलिरहेकोले नेपालमा पनि सम्भावित खतरा हुनसक्ने भन्दै त्यसतर्फ सचेत रहेर स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मङ्कीपक्सको सङ्क्रमणबाट बच्न व्यक्तिगत सरसफाइ र क्वरेण्टीनमा बस्ने कुरालाई ध्यान दिनुपर्ने बताए । उनले विदेशबाट आउने नेपाली नागरिक र विदेशी नागरिकले कम्तीमा दुई हप्ता अनिवार्य क्वरेण्टीनमा बस्ने, सकेसम्म बाहिरी कुनै पनि सामानहरु नछुने र छोइहाले साबुनपानीले तत्काल सफा गर्नुपर्ने बताए।

सहप्रवक्ता अधिकारीले मङ्कीपक्सको सङ्क्रमणबाट बच्न सरकारले आवश्यक कदम चालिसकेको छ र सीमा नाकाहरुमा निगरानी बढाएको बताए । उनले विश्व स्वास्थ्य सङ्गठनको केन्द्रिय, क्षेत्रीय र नेपालमा भएको कार्यालयसँग नियमित सम्पर्कमा रहेर प्राप्त प्राविधिक सुझावका आधारमा आवश्यक निर्णय गर्दै जाने पनि बताए ।

मङ्कीपक्स शरीरमा प्रवेश गरेपछि फोका उठ्ने, बिमिरा आउने, ज्वरो आउने र ग्रन्थीहरु सुन्निनेजस्ता समस्या देखापर्ने उनले बताए । उनले यो सङ्क्रमण प्रायजसाे बालबालिकाहरुमा देखापर्ने भएकोले बालबालिकाको स्वास्थ्यमा ख्याल गर्न पनि आग्रह गरे । उनले मङ्कीपक्सका कारण शरीरमा देखिएका लक्षण करिब तीन महिनापछि आफैँ हराएर जानसक्ने भएकोले डराउन आवश्यक नरहेको तर स्वास्थ्यमा ख्याल गर्नुपर्ने बताए ।

मङ्कीपक्स भएको तीनदेखि ४ हप्तासम्म लक्षण रहने र मानिसबाट मानिसमा सर्नेसक्ने सम्भावना रहेले मङ्कीपक्सको खाेप उत्पादन भएर प्रयोगमा आइसकेको पनि बताए । मङ्कीपक्स भएर मृत्यु हुनेको दर १० प्रतिशत रहेको उनले बताए।

मङ्कीपक्स मध्य र पश्चिमी अफ्रिकी देशहरुका घना जङ्गलमा रहेका जनावरहरुको सम्पर्कमा आउने मानिसहरुमा हुनसक्ने भाइरस हो । प्रायः मुसा प्रजातिका जनावरहरुमा यसको भाइरस रहन्छ । ती जनावरहरुको शरीरबाट निस्किएका थुकका छिटाहरु, र्याल, तरल पदार्थ र प्रत्यक्ष सम्पर्कमा आउने जस्ता माध्यमबाट सर्ने एवम् मरेका वा त्यस्ता जनावरहरुको मासु प्रयोग गर्ने मानिसहरुमा यो सङ्क्रमण हुनसक्छ ।

यो सङ्क्रमण मान्छेबाट मान्छेमा हुने सम्भावना न्यून रहेको अहिलेसम्मको अध्ययनले देखाएको छ । हालसम्म विश्वका ७ देशमा ३० जनाभन्दा धेरै मानिसहरुमा मङ्कीपक्सको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो समय यसको सङ्क्रमण दर बढेसँगै मान्छेबाट मान्छेमा नै सङ्क्रमण भइ सरेको हुनसक्ने अनुमान छ । यसका प्रायजसाे लक्षण स्मल पक्स भाइरससँग मिलेको विज्ञहरुको अध्ययनले देखाएको छ ।

प्रतिक्रिया