मन्त्री खतिवडाले भने, ‘५ देखि १२ वर्षका बालबालिकाका लागि यसै महिना काेराेना खाेप ल्याइन्छ’


काठमाडाैं – सरकारले यसै महिना पाँचदेखि १२ वर्ष उमेर समूहका बालबालिकाका लागि कोरोनाविरुद्धको खोप ल्याउने भएको छ । राष्ट्रिय सभाको संयोजन तथा विश्व स्वास्थ्य सङ्गठनको प्राविधिक सहयोगमा सांसदहरूसँग भएको अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले याे जानकारी दिएका हुन् ।

उनले भने, ‘पाँचदेखि १२ वर्ष उमेर समूहका बालबालिकाका लागि यसै महिना खोप ल्याउने तयारी भइरहेको छ ।’ यो महिनाभित्र खोप ल्याउन सकेमा अर्को महिनादेखि लगाउन सुरु गर्ने उनको भनाइ छ ।

मन्त्री खतिवडाले आउँदो वैशाखसम्म १२ वर्षमाथिका सबै नागरिकलाई पूर्ण मात्रा खोप लगाउने सरकारको लक्ष्य रहेको बताए । यो अभियानमा सांसद र पालिकाका जनप्रतिनिधिको सहयोग महत्त्वपूर्ण हुने भएकाले सहयोग गर्न उनले आग्रह गरे ।

‘हामी तपाईँकाे गाउँठाउँमा खोप पुर्‍याउँछौँ, यसमा कुनै शङ्का नगर्नुहोला । स्थानीयस्तरमा खोप लगाउन समन्वय गर्न म समुदायसँग जोडिएका जनप्रतिनिधिलाई अनुरोध गर्दछु’, खतिवडाले भने। कार्यक्रममा राष्ट्रिय सभा अध्यक्ष गणेसप्रसाद तिमिल्सिनाले वैशाख ३० गते हुने स्थानीय तहको चुनावअघि नै सबै नागरिकलाई खोप लगाउनु पर्नेमा जोड दिए ।

प्रतिक्रिया