

चितवनमा विद्युत् सर्ट भएर आगलागी हुँदा १ जनाको मृत्यु , एक घाइते

चितवन – चितवनमा विद्युत् सर्ट भई आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
भरतपुर महानगरपालिका वडा नं.१० स्थित शिखर इन्स्युरेन्स कम्पनीको शाखा कार्यालयमा कार्यरत भरतपुर ७ कटहरचोककी ३६ वर्षीया शकुन्तला पौडेल सुवेदीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी नरहरी अधिकारीका अनुसार आइतबार दिउँसो सवा १ बजे शिखर इन्स्योरेन्सको कार्यालयको बाहिर झुन्ड्याएको फ्लेक्स बोर्ड झिक्ने क्रममा सो दुर्घटना भएको हो ।
घटनामा भरतपुर महानगरपालिका वडा नं. ७ का २२ वर्षका तरुण थापा घाइते भएका प्रहरीले जनाएको छ । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
आगो भरतपुर महानगरको दमकल, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा निभाइएको छ । आगलागीबाट कार्यालयका कागजात पनि जलेका छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

