देशभर एकसाथ निर्वाचन सम्पन्न गर्न सबैको सहयोग अतुलनीय छ : गृहमन्त्री खाँण


काठमाडौं – सरकारले स्थानीय तह सदस्य निर्वाचन २०७९ मा खटिएका सम्पूर्ण सुरक्षाकर्मी र कर्मचारीहरुलाई धन्यवाद दिएको छ । वैशाख ३० गते देशभर एकसाथ सम्पन्न भएको स्थानीय तह निर्वाचन २०७९ मा सबैको सहयोग अतुलनीय भएको भन्दै सरकारले धन्यवाद दिएको हो ।

आज सिंहदरबारमा बसेको राष्ट्रिय सुरक्षा समितिको बैठकमा सरकारको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणले निर्वाचनमा खटिएका सम्पूर्ण सुरक्षाकर्मी र कर्मचारीहरुलाई धन्यवाद दिएको गृह सहसचिव फणिन्द्रमणि पोखरेलले बताए ।

बैठकमा गृहमन्त्री खाँणले निर्वाचनको महत्वलाई बुझेर जनतालाई सहज ढंगले मतदान केन्द्रमा सुरक्षा दिनु चुनौतिपूर्ण रहेको बताए । यस्तै मतपत्र र मतपेटिकाको सुरक्षा दिने विषय झनै चुनौतिपूर्ण रहेकोले यसमा सहज बनाउन सहयोग पुर्‍याउने सबै निकाय र पक्षहरुलाई धन्यवाद दिएको सहसचिव पोखरेलले जानकारी दिए ।

बैठकमा गृहमन्त्री खाँणले निर्वाचनका क्रममा घाईते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना एवं मृत्यु भएकाहरुप्रति समवेदना एवं परिवारलाई राहत तथा क्षतिपूर्ति प्रक्रिया शीघ्र अघि बढाउन निर्देशन दिएको सहसचिव पोखरेलले बताए ।सहसचिव पोखरेलले स्थानीय तहको यसपटकको निर्वाचनमा सिमित श्रोत, साधनको प्रयोग भएको पनि बताए ।

प्रतिक्रिया