निर्वाचन शान्तिपूर्ण तवरले घोषित मितिमा नै हुन्छ : गृहमन्त्री खाण


चितवन – गृहमन्त्री बालकृष्ण खाणले स्थानीय तहको निर्वाचन घोषणा भएकै मितिमा हुने बताएका छन् । नेपाल प्रेस युनियन चितवनले बुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री खाँणले निर्वाचन शान्तिपूर्ण वातावरणमा तोकिएकै मितिमा निष्पक्ष तवरले हुने बताए ।

उनले भने, ‘संविधान सभाको निर्वाचन हुँदैन भन्थे, भयो, कांग्रेसको महाधिवेशन हुँदैन भन्थे भयो, यो हल्ला हो ।’ बागी उम्मेदवारका सम्बन्धमा मन्त्री खाँणले कांग्रेसका स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिनेमा विश्वस्त रहेको बताए ।

उनले भने, ‘यहाँ मेरा अग्रज नेताहरू हुनुहुन्छ । समकालिन हुनुहुन्छ । उहाँहरूसँग संवाद र छलफल गरेर कसरी पार्टीलाई अघि बढाउने चितवनको प्रतिष्ठा कसरी जोगाउने, मतदातालाई कसरी अपिल गर्ने त्यसमा सबैसँग परामर्श गरेर अघि बढ्छौं ।’

उम्मेदवारी फिर्ता लिने समय रहेको भन्दै उनले भने, ‘पार्टीको निर्णयलाई सहजतापूर्वक लिएर उम्मेदवारी फिर्ता लिनुस् भनिएको छ । विश्वास छ नेता कार्यकर्ताले आफूले दिनुभएको उम्मेदवारी फिर्ता लिनुहुन्छ ।’

कांग्रेसका नेता साथीहरूलाई कसरी सम्मान गर्न सकिन्छ भन्ने विषयमा मन र हृदय लिएर आफू चितवन आएको उनको भनाइ थियो ।

अहिलेको गठबन्धन संविधान र लोकतन्त्रको रक्षाका लागि बनेको भन्दै उनले भने, ‘अहिले राष्ट्रिय राजनीति गठबन्धनको जगमा उभिएको छ ।’ यसलाई सबैले सहजतापूर्वक लिनुपर्ने उनको भनाइ थियो । उनले भने, ‘लोकतन्त्रको रक्षा र संविधानको रक्षाका लागि गठबन्धन आवश्यक छ ।’

प्रतिक्रिया