२४ घण्टामा देशभर २२ स्थानमा आगलागी : एकको मृत्यु, पाँच घाइते


काठमाडौं – गएको २४ घण्टामा देशका विभिन्न स्थानमा गरी २२ ठाउँमा आगलागीका घटना भएका छन्।  ती घटनामा परी एक जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार बाजुराको खप्तड छेडेदह गाउँपालिका–२ ओटेखेत स्थित एक घरमा अचानक आगलागी हुँदा गोठ र घर पूर्णरुपमा जलेको छ। घटनामा एक महिलाको मृत्यु भएको छ। यस्तै, १५ वटा पशुको पनि मृत्यु भएको छ।

यस्तै, रुपन्देहीको मर्चवारी गाउँपालिका–२ जोगियाबारीघाटमा आगलागीबाट तीनवटा घर पूर्णरुपमा जलेका छन् भने ३ जना सामान्य घाइते भएका छन्।

यसैगरी सुर्खेतको भेरीगंगा नगरपालिका–६ स्थित एक घरमा राष्ट्रिय वन भलेनी भित्ताबाट आएको आगो सल्किई आगलागी हुँदा वर्ष ३७ की एक महिला घाइते भएकी छन्।

यता, सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–३ फलाटे देउराली सामुदायिक वनमा आगलागी हुँदा आगो निभाउने क्रममा एक पुरुष घाइते भएका छन्। प्राधिकरणका अनुसार देशका विभिन्न स्थानमा नौ वटा जंगलमा आगलागी भएको छ।

प्रतिक्रिया