चलचित्र क्षेत्रका समस्या समाधान गर्न पहल गर्ने गृहमन्त्रीको आश्वासन


काठमाडाैं – गृहमन्त्री बालकृष्ण खाणले चलचित्र क्षेत्रका समस्या समाधान गर्न पहल गर्ने यस क्षेत्रका कलाकार र चलचित्र निर्मातालाई आश्वासन दिएका छन्।

गृह मन्त्रालयमा आज चलचित्र क्षेत्रका प्रतिनिधिसँगको भेटमा उनले जनतालाई राष्ट्र, राष्ट्रियता, संस्कृति र रहनसहनबारे कलाका माध्यमबाट जानकार बनाउने कलाकारलाई सम्मान गर्नु सरकारको दायित्व भएको बताए ।

भेटमा कलाकार र चलचित्र निर्माताले राष्ट्रिय चलचित्र नीति, २०७१ कार्यान्वयनमा ल्याउन पहल गरिदिन गृहमन्त्री खाणसमक्ष अनुरोध गरेका थिए । त्यसको जवाफमा मन्त्री खाणले समस्या समाधानका लागि आवश्यक सहयोग गर्ने आश्वासन दिएका हुन् ।

भेटमा नायक भुवन केसी, नायिका एवं हास्यकलाकार दीपाश्री निरौला, चलचित्र निर्माता नवलसिंह खड्का, गायक हेमन्त शर्मालगायतको सहभागिता थियो ।

प्रतिक्रिया