कांग्रेस बैठक : तालमेल होइन, कांग्रेस एक्लै चुनावमा जानुपर्ने मत धेरै भएपछि देउवालाई तनाव!


काठमाडौं– नेपाली कांग्रेसमा आसन्न स्थानीय तह निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकामा उमेदवार चयन गर्नेलगायत विषयमा छलफल भएको छ । शनिबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उमेदवार चयनको मापदण्ड, चुनावी तालमेललगायत विषयमा छलफल भएको नेता एनपी साउदले जानकारी दिए ।
‘धेरै कुरामा छलफल भयो । महानगर र उपमहानगरमा कसरी उमेदवार चयन गर्ने भन्ने छलफल भयो,’उनले भने ।

पार्टीको केन्द्रीय समितिले चुनावी तालमेलसम्बन्धी निर्णय गरिसकेको भन्दै उनले तालमेल स्थानीय आवश्यकताअनुसार हुनुपर्नेमा जोड दिएका थिए । ‘स्थानीय समितिहरूले त्यो आवश्यकतालाई सबभन्दा राम्रोसँग बुझ्छन् । माथिबाट निर्णय लाद्नु हुँदैन,’ उनले बैठकमा भनेका थिए ।

नेता अर्जुननरसिंह केसीले भने निष्पक्ष, पारदर्शी र उपयुक्त ढंगले उमेदवार चयन गर्नुपर्ने बताए । उमेदवार चयनका विषयमा पार्टीभित्र सहमति हुनुपर्ने उनको भनाइ थियो ।

‘गठबन्धन आफ्नो ठाउँमा, तालमेल आफ्नो ठाउँमा छँदै छ । सबभन्दा पहिला नेपाली कांग्रेसका तमाम कार्यकर्ता र नेतृत्वले सहमति खोज्ने कि विनाश रोज्ने भन्ने कुरामा गम्भीर हुनुपर्ने आवश्यकता छ,’ उनले बैठकमा भनेका थिए, ‘निष्पक्ष, पारदर्शी र उपयुक्त ढंगले चयन गर्ने कुरातिर केन्द्रित हुनुपर्ने आवश्यकता छ ।’

उनले चुनावी तालमेलका विषयमा प्रस्ट खाका आउनुपर्ने भन्दै तालमेलको निश्चित मापदण्ड के हो?’भनी प्रश्न गरेका थिए । ‘धेरै ढिलो नगरौँ । हरेक तहमा सहमतिपूर्ण निकास निकाल्नका निम्ति कार्ययोजना र निश्चित मापदण्ड चाहिन्छ।’

सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनका दलबीच चुनावी तालमेल गर्ने निर्णय भइसकेको भन्दै सोहीअनुसार अघि बढ्नुपर्नेमा जोड दिएको नेता साउदले जानकारी दिए ।
कांग्रेसभित्र गठबन्धन गर्ने र नगर्ने विषयमा ठूलो मतभेद छ। सभापति शेरबहादुर देउवा गठबन्धनको पक्षमा छन्। उनी पक्षका नेताले भने देउवाकै त्रासका कारण विरोध गर्न सकेका छैनन्। महामन्त्रद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले त गठबन्धनको चर्काे आलोचना र विरोध गर्दै आइरहेका छन्। डा.शेखर कोइरालाले पनि यसको विरोध गर्दै कांग्रेस एक्लै लड्नु पर्ने भन्दै आएका छन्। देउवा पक्षकै केही नेताले पनि गठबन्धनले कांग्रेसको भविष्य नै समाप्त पार्ने भन्दै देउवालाई त्यसो नगर्न भन्न थालेका छन्। यसले पनि देउवालाई थप तनाव सृजना भएको छ।

प्रतिक्रिया