गठबन्धन दलको तालमेल चटक : केन्द्रमा मेल जिल्लामा बेमेल


काठमाडौँ– ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा सत्ताधारी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्टिय जनमोर्चादेखि प्रमुख प्रतिपक्षमा रहेका दल नेकपा एमालेसम्म तालमेलको कसरतमा जुटेका छन्।

पाँच दलीय सत्ता गठबन्धन स्थानीय तह निर्वाचनमा केन्द्रको महानगरदेखि गाउँपालिकासम्म नै तालमेलको पक्षमा उभिने निर्णय गरिसकेको छ।

यसैगरी, प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको नेकपा एमालेले पनि तालमेलका लागि साना दलसँग सहकार्य गर्दै अघि बढेको छ । एमालेले बुधबार मात्रै कमल थापाको नेतृत्वमा रहेको राप्रपा नेपालसँग चुनावी तालमेलको सहमति गरेको हो । सहमतीअनुसार राप्रपाका उम्मेदवार आउँदो स्थानीय तह निर्वाचनमा सूर्य चिह्न लिएर चुनावी मैदानमा उत्रिने भएका हुन्।

यसैगरी, एमाले र परिवार दलबीच पनि चुनावी तालमेलको सहमति भइसकेको दाबी गरिएको छ।

सत्तामा रहेका कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाबीच भएको चुनावी तालमेलको सहमतिमा भने तल्ला तहमा असन्तुष्टि बढेको छ।

यी सत्तारूढ दलले गरेको तालमेलको निर्णयका विषयमा जिल्लामा रहेका पार्टी संयन्त्रले फरक मत राख्दै आइरहेका छन्।

कांग्रेस चितवन र कांग्रेस पर्साले केन्द्रीय तहबाट गरिएको गठबन्धनको निर्णय नमान्ने भन्दै विद्रोहको चेतावनी नै दिइसकेका छन् । भरतपुर महानगरपालिकाका कांग्रेसका वडा अध्यक्षहरूले यसपटक कुनै हालतमा तालमेलको निर्णय नमान्ने भन्दै विज्ञप्ति नै जारी गरिसकेका छन्।

यसैगरी पर्सा कांग्रेसले जिल्लाका १४ वटै पालिकामा कुनै पनि दलसँग तालमेल नगर्ने निर्णय गरेको कांग्रेसका जिल्ला सभापति जनार्दनसिंह क्षत्रीले जानकारी दिए । सत्ता गठबन्धनमा रहेका दलका केन्द्रले भने केन्द्रदेखि प्रदेश र जिल्ला तथा पालिका तहमा संयन्त्र बनाएर तालमेलको मोडालिटी तय गर्न मातहतका निकायलाई निर्देशन नै गरिसकेका छन्।

गठबन्धनले देशका ६ महानगरमा केन्द्रीय तहबाटै भागबन्डामार्फत उम्मेदवार तोक्ने निर्णय गर्दै अन्य तहमा उम्मेदवार गठबन्धनको संयन्त्रमार्फत तय गरेर केन्द्रमा सिफारिस गर्न भन्दै गत मंगलबार निर्देशन गरेका हुन् । सत्ता गठबन्धन आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठकमा देशका ६ महानगरमा केन्द्रीय तहबाट नै उम्मेदवार तय गर्ने सहमति भइसकेको छ।

केन्द्रले गर्ने तालमेलमा स्थानीय तहमा रहेका दलका संयन्त्र अनिच्छुक बन्दै गएपछि सत्ता गठबन्धन आबद्ध पाँच दलको मंगलबार बसेको बैठकले स्थानीय तहलाई संयन्त्र बनाएर तालमेल तय गर्न र सोहीअनुसार तहगत रूपमा निर्णय सिफारिस गर्न भनेका हुन् ।

स्रोतका अनुसार कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकामा नेतृत्व लिनेगरी गठबन्धनको उच्च तहमा सहमति भएको छ । यस्तै, भरतपुर महानगर माओवादी केन्द्र, पोखरा महानगर नेकपा एकीकृत समाजवादी र वीरगन्ज महानगर जसपालाई दिनेगरी गठबन्धनका उच्च तहका नेताबीच सहमति भएको छ।

तर, नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनावी तालमेलको संस्कृतिले नेपालको लोकतन्त्रलाई कमजोर बनाउने बताएका छन्।

नयाँ वर्ष २०७९ को अवसरमा बिहीबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री थापाले दलबीच हुने चुनावी तालमेलले मुलकलाई हित नगर्ने बताएका हुन्।

प्रतिक्रिया