केसी १९ दिनका लागि सशस्त्रका आईजीपी


काठमाडाैं – पुष्पराम केसी सशस्त्र प्रहरी बल नेपालको १९ दिनका लागि प्रहरी महानिरीक्षक (आईजीपी) बनेका छन्। यसअघिका महानिरीक्षक शैलेन्द्र खनालले गएकाे साेमवार आईजीपीको चार वर्षे कार्यकाल पूरा गरी अनिवार्य अवकाश पाएपछि २०७८ चैत ३० गतेको मन्त्रिपरिषद् बैठकको निर्णयबाट सरकारले केसीलाई ११ औँ महानिरीक्षकमा बढुवा गरेको हो ।

खनाल महानिरीक्षक भएको चार वर्ष नपुगेको भए अहिलेका आईजीपी केसी अतिरिक्तबाटै बाहिरिनुपर्ने थियो । खनालको ३० वर्षे सेवा अवधि हिसाब गर्ने हो भने केसीसँगै अवकाश पाउने थिए तर सशस्त्रमा महानिरीक्षक भएको चार वर्ष पुगेपछि पनि अनिवार्य अवकाश हुने बाध्यकारी व्यवस्था केसीका लागि अवसर बन्न पुग्यो ।

सशस्त्रमा ३० वर्ष सेवा अवधि वा आईजी भएको चार वर्ष जुनअघि आउँछ त्यही मितिबाट अनिवार्य अवकाश लिनुपर्ने व्यवस्था छ । आईजीका प्रतिस्पर्धीमा उनसँगै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेल पनि थिए तर वरीयताका आधारमा सरकारले केसीलाई पदोन्नति गरेको हो । तीस वर्षे सेवा अवधिका कारण उनीहरू यही वैशाख १८ गते अवकाश लिँदै छन् ।

विसं २०२३ भदौ १५ गते नुवाकोटको तलाखु ३ मा जन्मिएका सशस्त्र प्रहरी महानिरीक्षक केसी अहिले काठमाडाैंकाे हात्तीगौडामा बस्छन् । त्रिभुवन विश्वविद्यालयबाट एमपीए गरेका केसी २०४९ वैशाख १९ गते प्रहरी निरीक्षकबाट सत्य, सेवा, सुरक्षणमंकाे झण्डामुनि रहेर सेवा दिन तल्लिन भए।

विसं २०५८ वैशाख ४ गते नेपाल प्रहरीबाट सशस्त्र प्रहरी बल नेपालमा स्थानान्तरण हुनुभएका सशस्त्र प्रहरी महानिरीक्षक केसी नेपाल सरकार मन्त्रिपरिषद्को २०७४ वैशाख २१ गतेको निर्णयबाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति भएका थिए । महानिरीक्षक केसी सुकीर्तिमय राष्ट्रदीप (तृतीय), सुप्रबल जनसेवाश्री तेस्रो, वीरेन्द्र ऐश्वर्य सेवा पदक, गोर्खा दक्षिणबाहु चौथो, प्रसिद्ध सेवा पदक, यूएन सेवा पदक, परदेश सेवा पदक, गद्दी आरोहण रजत पदक, दुर्गम सेवा पदकलगायत १२ विभुषण, मानपदवी, पदक तथा अलङ्कारबाट विभूषित  भएका छन् ।

केसीले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय मानवस्राेत विभाग, कार्य तथा सीमा सुरक्षा विभाग, राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान, एपीएफ कमान्डा तथा स्टाफ कलेज, राजस्व भन्सार तथा औद्योगिक सुरक्षा निर्देशनालय, सशस्त्र प्रहरी बल, नेपालको बाहिनी मुख्यालय, तालिम केन्द्र, गणलगायत कार्यालयको प्रमुख भएर जिम्मेवारी सम्हालिसकेका छन् । उनले सशस्त्र प्रहरीको नेतृत्व सम्हालेलगत्तै सशस्त्र प्रहरी कर्मचारीबाट राज्यप्रदत्त जिम्मेवारीका क्षेत्रमा निःस्वार्थ भावनाका साथ व्यावसायिक भइ कुशलतापूर्वक कार्यसम्पादन हुने विश्वास व्यक्त गरेका छन् ।

सशस्त्र प्रहरी कर्मचारीले आउँदाे दिनमा समेत नियुक्तिका क्षेत्रहरूमा उच्च हौसलाका साथ चेन अफ कमान्ड, फौजी मर्यादा र अनुशासनमा रही सामूहिक भावनाका साथ कार्यक्षेत्रमा क्रियाशील हुन केसीले अपेक्षा गरेका छन् । सङ्गठन सुदृढीकरणका लागि योजना प्रस्तुत गर्दै उनले सशस्त्र प्रहरी बल नेपालको जनशक्तिको समयसापेक्ष र वैज्ञानिक ढङ्गले परिचालन, प्रभावकारी सीमा सुरक्षा व्यवस्थापन, आवश्यकताअनुसार ऐन नियम तथा निर्देशिका परिमार्जन, सङ्गठन व्यवस्थापनमा लाग्ने प्रतिबद्धता जनाएका छन् ।

१८ दिनपछि को बन्ला नयाँ आईजी…?

अबको १८ दिनपछि एआईजी पद रिक्त हुने भएकाले अहिले रहेका सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) बाट सशस्त्रको १२ औँ आईजीपी नियुक्त गरिने छ । अहिले एआईजीको दुई सिटमध्ये एउटा खाली छ । गृह मन्त्रालयको बढुवा समितिले हिजाे बुधवार नै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकको पदोन्नतिका प्रयोजनार्थ प्राप्त गरेको शैक्षिक योग्यतालगायत आवश्यक प्रमाणपत्र पेस गर्न तीन दिनको समयसीमा दिइसकेको छ ।

आईजीको फूली लगाएकै दिन केसीले बुढुवा समितिका सदस्यसचिवको हैसियतले दाबी पेस गर्न सूचनामार्फत डीआईजीलाई आग्रह गर्नुभएको छ । वरीयतामा अगाडि रहेका अहिलेका डीआईजी राजु अर्याल, नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम मध्येबाट एक जना सशस्त्र प्रहरी अतिरीक्षक महानिरीक्षकमा बढुवा हुने र उनी नै भावी आईजीपी हुने देखिन्छ । त्यसैले अहिलेको बढुवा प्रक्रियालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

सशस्त्र प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विदुर खड्काका अनुसार अर्याल एक नम्बरमा हुनुहुन्छ भने पौडेल दोस्रो र गौतम तेस्रो नम्बरमा छन् । अर्याल र पौडेल नेपाल प्रहरीबाट र गौतम नेपाली सेनाबाट सशस्त्रमा आएका हुन्।

प्रतिक्रिया