गाउँपालिकाका अध्यक्षले राेके चामल वितरण, राजनीति गर्न खोजेको स्थानीयकाे आराेप


सुर्खेत – डाेल्पाकाे काइके गाउँपालिकाको सरहताराका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट लिएको चामल गाउँपालिकाका अध्यक्ष अंगदकुमार रानाले विवरणमा रोक लगाएका छन् ।

चालु आर्थिक वर्षका लागि लिएको दुई हजार पाँच सय क्विन्टल चामलमध्ये सात सय क्विन्टल चामल विवतरण गरिसकेको छ । बाँकी भर्खरै मात्र लिएको पाँच सय क्विन्टल चामल वितरणमा रोक लगाएको हो । चार हजार पाँच सय जनसंख्या रहेको काइके गाउँपालिकामा सबैलाई पुग्ने गरी चामल ढुवानी नगरेसम्म लिएको चामल वितरण गर्न नदिने गाउँपालिका अध्यक्ष रानाले टेलिफोनमा जानकारी दिए ।

काइके गाउँपालिकामा अझै एक हजार तीन सय क्विन्टल चामल ढुवानी गर्न बाँकी रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कमलराज पाण्डेले जानकारी दिए । अहिले गएको जती चामल वितरण भइदिए केही समस्या हल हुने प्रमुख पाण्डेले बताए । चामल वितरणमा रोक लगाएपछि नयाँ चामल लिन ठेकेदार कम्पनीलाई समस्या हुने उनको भनाइ छ ।

पहिला लिएको चामल बिक्री गरेपछि मात्र ठेकेदारलाई आफूहरूले रकम भुक्तानी दिने गरेको उनले बताए । गाउँमा आएको चामल समेत वितरण गर्न नदिएर गाउँपालिकाका अध्यक्षले राजनीति गर्न खोजेको स्थानीयकाे आराेप छ । जुफाल र दुनैमा पनि चामलको संख्या कम रहेको उनले बताए । मुस्किलले एक हजार क्विन्टल चामल रहेको उनले बताए । अन्य पालिकामा समेत खाद्यान्न अभाव रहेको उनले बताए ।

प्रतिक्रिया