सरकार सार्वजनिक विद्यालय सुधार्न तत्पर छ : शिक्षामन्त्री पौडेल


काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सरकारले सार्वजनिक विद्यालयलाई सुधार गर्न जोड दिइरहेको बताएका छन् ।

बुधबार काठमाडौँ महानगरपालिकाभित्रका विभिन्न सार्वजनिक विद्यालयहरूको अनुगमन गर्ने क्रममा बोल्दै मन्त्री पौडेलले सार्वजनिक शिक्षालाई सुधार गर्नका लागि सरकारले जोड दिइरहेको बताए।

उनले नेपालको सार्वजनिक शिक्षामा भौतिक पूर्वाधारको सुधार, कानुनी सुधार र शिक्षण सिकाइ प्रक्रियामा सुधार आवश्यक रहेकाले त्यसका निम्ति सरकार लागिरहेको बताए ।

मन्त्री पौडेलले निजी क्षेत्रले पनि शिक्षालाई नाफा आर्जन गर्ने थलोको रूपमा नलिई न्यूनतम शुल्कमा पढाउनुपर्ने बताए । सरकारले निजी क्षेत्रलाई पनि ध्यान दिइरहेको उनले बताए।

उनले कम्तीमा ३ वर्षभित्रमा सार्वजनिक शिक्षा सुधारमा देखिने गरी सरकारले काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

मन्त्री पौडेलले विद्यालय सुधार्ने मुख्य जिम्मेवारी शिक्षकको काँधमा रहेको भन्दै शिक्षकहरूले विशेष रूपमा ध्यान दिनुपर्ने बताए। उनले शिक्षक र विद्यार्थीलाई विद्यालय पोसाक अनिवार्य रूपमा लगाउन आग्रह पनि गरे ।

प्रतिक्रिया