सिट बेल्ट नभएको बिमानमा काठमाडौं-भैरहवा उडान !

गुण एयरलाइन्सको विमानको सिटमुनि बिग्रिएको अवस्थामा 'बेल्ट' भेटिएपछि विरोध जनाएका यात्रुलाई अर्को सिटमा राखेर भैरहवा पुर्याइयो


काठमाडौं – मानिसहरु विभिन्न काम विशेषले यात्रा गरिरहेका हुन्छन्। कहिले पैदल यात्रा, त कहिले यातायातमा त्यतिमात्र नभएर मानिसहरु हवाई यात्रा पनि गरिरहेकै हुन्छन्।

यात्रा जुनसुकै क्षेत्रको भए पनि सजक र सचेत हुनु जरुरी रहन्छ। त्यसैले जुनसुकै विमानका एयर होस्टेजहरुले विमानभित्र पालना गर्नुपर्ने नियमहरुबारे बिफ्रिङ गर्ने गरेका हुन्छन्।

जसमा एउटा नियम अनिवार्य छ– सिट बेल्ट बाँध्नु । बिफ्रिङमा एयर होस्टेजले सिट बेल्ट कम्मरमा बाँध्न अनुरोध समेत गर्छन्। अझ सिट बेल्ट कस्ने र फुकाल्ने विधिबारे उनीहरुले प्रयोग गरेर देखाइदिने गर्छन्।

धेरैले सोहीअनुरुप सिट बेल्ट बाँधेर ढुक्कसँग यात्रा गर्छन्। तर, सोमबार काठमाडौंबाट भैरहवा उडान भर्न लागेको गुण एयरलाइन्सको एउटा विमानभित्र सिट बेल्ट नै थिएन। फ्लाइट नं. GUA831 बाट ११ः४५ बजेको फ्लाइटमार्फत भैरहवा जान लागेका यात्रु जितेन्द्र खड्का बस्न लागेको सिट नम्बर ‘आठको सी’मा सिट बेल्ट नभएको पाइएको हो।

त्यसपछि तत्कालै उनले एयरहोस्टेजलाई खबर गरे। खोज्दै जाँदा उक्त सिटको सिट बेल्ट विमानको भुँइमा भेटियो। ‘लक’ नै निस्केको अवस्थामा सिट बेल्ट भेटेपछि एकछिन विमानभित्रै खैलाबैला भयो।

यात्रुहरुले आफूहरुको ज्यान नै जोखिममा पारेर उडान भर्न लागेको भन्दै आपत्ति जनाए। यात्रु खड्काले सिट बेल्ट नै नभएको सिटमा बसेर भैरहवा जान नसक्ने बताएपछि उनलाई पछाडिको सिटमा लगेर राखियो।

यसरी गुण एयरलाइन्सले यात्रुहरुको ज्यान नै जोखिममा राखेर उडान भर्न खोज्नु गलत भएको खड्का बताउँछन्। ‘सिट बेल्ट नै नभएको अवस्थामा गुण एयरलाइन्सले किन उडान भर्न लाग्यो?’ उनले गम्भीर आपत्ति जनाए।

‘एयर होस्टेजले सिट बेल्ट बाँध्न भनेपछि आफूले बाँध्न खोज्दा नपाएपछि खैलाबैला समेत भयो,’ खड्का भन्छन्, ‘म त एउटा प्रतिनिधि मात्र हुँ। थुप्रै यात्रुहरुको ज्यान नै जोखिममा राखेर उडान भर्न खोज्ने विमान कम्पनीमाथि अनुसन्धान हुनु आवश्यक छ।’

 

किन बाँधिन्छ सिट बेल्ट?

विमानमा यात्रा गर्दा अनिवार्य रुपमा सिट बेल्ट बाँध्नुपर्ने हुन्छ। किनकि अधिकांश समय विमान ९ हजार मिटरभन्दा माथि आकाशमा उडिरहेको हुन्छ।

कोहीबेला विमान हुस्सु र कुहिरोभित्र पस्दा विमान हल्लिन थाल्छ। त्यतिबेला यात्रुहरु पनि हल्लिन सक्छन्। यात्रुहरु हल्लिँदा उडिरहेको विमान झनै बेस्सरी हल्लेर कोल्टिन सक्छ।

जतिबेला विमान दुर्घटनामा पर्नसक्छ। त्यसैलाई मध्यनजर गरेर विमानमा यात्रा गर्दा सिट बेल्ट अनिवार्य गरिएको हो। जसले गर्दा विमान दुर्घटना हुनबाट जोगिन्छ।

प्रतिक्रिया