राष्ट्र बैंकका अधिकारीले करोडौं रकम फुकुवा गरिदिन ३० हजार डलर बार्गेनिङ गरे : अर्थमन्त्री शर्मा


काठमाडाैं –  अर्थमन्त्री जनार्दन शर्माले एकजनाको बैंक खातामा अमेरिकाबाट आएको करोडौं रकम फुकुवा गरिदिन राष्ट्र बैंकको सञ्चालक समितिमा रहेका एक सदस्यले नै बार्गेनिङ गरेको सूचना आफूले पाएको बताएका छन् ।

शुक्रबार राष्ट्र बैंकले आयोजना गरेको ‘नेशनल कन्फ्रेन्स अन इकोनोमिक्स एण्ड फाइनान्स’ विषय कार्यक्रममा मन्त्री शर्माले अछामका पृथ्वीबहादुर शाहका खातामा अमेरिकाबाट आएको करोडौं रकम फुकुवा गरिदिन  ३० हजार डलर माग गरेको सूचना पाएको बताएका हुन् ।

‘मेरो बैंक खाता रोकियो भन्दा त्यो के हो बुझ्न दिनुस् भन्दा ठूलो विषय बनाएर मिडिया खोजेर गोप्य कुराहरु त्यहाँ पुर्याइन्छ किन ?’, अर्थमन्त्री शर्माले भने, ‘कतिपय सूचनाहरु हुन्छन्, रिपोर्ट गर्नुपर्ने रिपोर्ट हुँदैन । बदमासी भइरहेको हुन्छ । एउटा सञ्चालक समितिले बार्गेनिङ गरेको सुनेको छु, आधिकारिक कुरा थाहा छैन मलाई । ३० हजार डलर चाहियो भनेर बार्गेनिङ गरेको सञ्चालक समिति सदस्यले । अनि हाम्रो यहाँ पारदर्शिता हुन्छ । यस्ता कुराहरु हामीले सच्याउनु पर्छ ।’

उनले राष्ट्र बैंकका गोप्य सूचनाहरू राष्ट्र बैंककै उच्च अधिकारीहरूले मिडियामा दिने गरेको आरोप पनि लगाए ।  त्यस्तै अर्थमन्त्री शर्माले नेपाल र श्रीलंकाबीच तुलना हुन नसक्ने बताए । उनले श्रीलंका र नेपालको ऋण, उत्पादन क्षेत्र, विदेशी लगानी र ऋण सहयताको कुरालाई हेर्दा समेत तुलना हुने कुरा नभएको बताए ।

‘राष्ट्र बैंक अर्थमन्त्रालयको सल्लाहकार हो भन्ने सुनेको छु । हो पनि कसैले मलाई फोन गर्दछन् यहाँ अर्थतन्त्रमा ठूलो समस्या भयो भन्छ ।  के रे शेयर किन्ने पैसामा क्याप लाइसक्यो । ४÷१२ गराइयो । किन गराएको भन्ने प्रश्न सोध छ । अनि म गभर्नर साबलाई सोध्छु । के हो यो । के गर्नू भएको हो ।

के भन्ने हो मैले जवाफ मैले सल्लाहकारलाई सोध्नु त पर्‍यो नि ।  सोध्न अन्त कहाँ जाने ? कहिले कहि बैंकको ब्याज बढ्छ । किन बढ्यो ब्याज भनेर सोध्नु पर्‍यो । कहिलेकाँही कोही आउँछ र निवेदन दिन्छ । त्यो निवेदन के रहेछ हेरिदिनु पर्‍यो भने पछि मिडियालाई बुझाइन्छ । हस्तक्षेप गर्‍यो अर्थमन्त्रीले भन्ने छ । ऐन कानुनले चल्ने हो,’ उनले भने ।

प्रतिक्रिया