गण्डकी गाउँपालिकाः काँग्रेसलाई माओवादीको भर माओवादीलाई काँग्रेसको भर!


काठमाडौं – सरकारले आउँदो वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेसँगै गाउँदेखि सहरसम्म चुनावी माहोल तात्न थालेको छ। त्यसो त गोरखाको गण्डकी गाउँपालिकामा अझ धेरै चुनावी चहलपहल बढेको छ।

गाउँपालिकामा सबै दलका नेताहरूबीच रस्साकस्सी सुरु भएको अवस्था छ। नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र एकीकृत समाजवादी (एस)ले चुनावी अभियानलाई तीव्रता पारेका छन्।

योसँगै गाउँपालिका प्रमुख र उपप्रमुखको उम्मेदवार बन्न चाहनेहरूले आफ्नो लविङ थालेका छन्।

साविकको फुजेल, दर्बुंङ, भुम्लिचोक, घ्याल्चोक, तागिंल्चोक र मकैसिङ गरि ६ वटा गाउँ विकास समिति (गाविस) लाई जोडेर पूर्वमा धादिङ जिल्ला तथा पश्चिममा चितवन जिल्ला उतरमा सहिद लखन गाउँपालिका रहेको गाउँपालिका हो-गण्डकी।

अघिल्लो स्थानीय तहको चुनावमा गण्डकी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका होमबहादुर राना निर्वाचित भएका थिए। उनले ४ हजार १३८ मत पाएका थिए भने उनका निकटमा प्रतिद्वन्द्वी माओवादीका दीपक तिमिल्सिना रहेका थिए।

उनले ३ हजार ८५७ मत पाएका थिए। एमालेका विष्णु पन्तले १२४२ मत पाएका थिए। उपाध्यक्षमा कांग्रेसकी ललिता अधिकारी ४ हजार १०० मतका साथ निर्वाचित भएकी थिइन् भने उनको निकटम प्रतिद्वन्द्वी तत्कालिन नयाँ शक्ति पार्टीकी दुर्गा गुरुङले ३ हजार ९२८ मत पाएकी थिइन्।

नेपाली काँग्रेसले योपटक पनि गाउँपालिका नछोड्ने बताएको छ। त्यस्तै नेकपा माओवादी केन्द्रले समेत गाउँपालिका अध्यक्षमा दाबी गर्ने बताइरहेको छ। केन्द्र सरकारमा काँग्रेस र माओवादी सत्ताघटक दल हुन्।

केन्द्र सरकारमा रहेका पाँच दलबीच स्थानीय तहको चुनावमा गठबन्धन गर्ने सहमति भएको छ। जबकी नेपाली काँग्रेस गठबन्धनको मुख्य शक्ति हो। गण्डकी गाउँपालिकालाई समेत काँग्रेसको गढ मानिन्छ। तर, गठबन्धनको मोडालिटी कस्तो हुने भन्ने टुंगो भने लागेको छैन।

शुक्रबार मात्रै बसेको गोरखाका चार राजनीतिक दलको बैठकले सत्ताघटक दलहरु चुनावमा मिलेर जाने सहमति गरेका छन्। गोरखामा काँग्रेस र माओवादीसँगै जसपा र एकीकृत समाजवादी समेत सत्तागठबन्धनमा छन्।

कांग्रेस सभापति नन्दप्रसाद न्यौपाने, माओवादी जिल्ला समन्वय समिति अध्यक्ष लेखबहादुर थापामगर, जसपाका यानप्रसाद भट्ट र एकीकृत समाजवादीका यादव बस्नेत सहभागि बैठकले पाँच दलीय केन्द्रीय संयन्त्रको निर्णय मान्ने, एक अर्कामा आरोप नगलाउने, मिलेर निर्वाचनमा जाने विषयमा सहमति गरेको छ।

यस्तो अवस्थामा गण्डकी गाउँपालिकाको चुनाव झनै रोचक हुनेछ। के त्यसो भए गण्डकी गाउँपालिका अध्यक्षको टिकट काँग्रेसले पाए माओवादीले सहजै रुपमा छोड्ला? माओवादीले पाए काँग्रेसले छोडेर सहयोग गर्ला? रोचक विषय यहि हो।

गण्डकी गाउँपालिका अध्यक्षमा सत्ताघटक दल काँग्रेस र माओवादीसँगै नेकपा एमालेले समेत उम्मेदवारी दिनेछ। नेकपा एमाले गण्डकी गाउँपालिकामा कमजोर रहेपनि आफ्नो दाबेदारीबाट पछि नहट्ने बताइसकेको छ।

नेकपा एमालेबाट फुजेलका विष्णु पन्तको नाम चर्चामा छ। अघिल्लो चुनावमा समेत अध्यक्षमा उठेका पन्तले धेरै मतान्तरले आफ्नो हारलाई स्वीकारेका थिए। सत्ताघटक दलहरु मिलेको अवस्थामा गण्डकी गाउँपालिका अध्यक्ष एमालेले जित्न भने कठिन छ।

यो पटक पनि एमालेलाई गण्डकी गाउँपालिकामा जित दर्ता गर्न चुनौती नै छ। त्यसो त एमालेलाई पार्टी विभाजनको असर समेत पर्नेछ। एमालेबाट विभाजन भएर बनेको एकीकृत समाजवादीले मत काट्न सक्ने आंकलन गरिएको छ।

एकीकृत समाजवादीले एमालेलाई हराउन अन्य दलका नेताहरूलाई समर्थन गर्न सक्ने भएकाले एमालेलाई चुनौती थपिएको छ। त्यस्तै एकीकृत समाजवादीका एक नेताले आफूहरूले गाउँपालिकामा जित हासिल गर्न नसके पनि जुनसुकै दलको उम्मेदवारलाई हराउन सक्ने संख्या भएको बताए।

‘हामीले जित हासिल गर्न नसकौंला तर गण्डकी गाउँपालिकामा हाम्रो भोट निर्णायक छ,’ ती नेताले भने। यद्यपी, अहिलेको चुनावमा एकीकृत समाजवादीबाट गण्डकी गाउँपालिका अध्यक्षमा कसैले दाबी नगर्ने बताइसकेको छ। यस्तो अवस्थामा एकीकृत समाजवादीले माओवादी र काँग्रेसमध्ये एकलाई समर्थन गर्ने ती नेताले बताए।

त्यस्तै काँग्रेसबाट गण्डकी गाउँपालिकाको प्रमुखको लागि वर्तमान अध्यक्ष रानाले नै आकांक्षा देखाएका छन्। उनले आफूले पाँच वर्षे कार्यकालमा प्रतिबद्धताअनुसार काम गरेको र बाँकी कामलाई पूर्णता दिन आफू फेरी दोहोरिनुपर्ने मत राखेका छन्।

त्यस्तै अघिल्लोपटक उपाध्यक्षमा निर्वाचित भएकी अधिकारीले समेत योपटक पालिका हाँक्ने मन राखेकी छन्। त्यसैले कांग्रेसले अघिकारीलाई नै उम्मेदवार बनाउने सम्भावना रहेको छ। उनी आफूले टिकट पाए सहज रुपमा जित हासिल गर्ने दाबी गर्छिन्।

कांग्रेस यो गाउँपालिकामा पहिलो शक्ति हो। अघिल्लो चुनावमा पाएको मतलाई आधार मान्ने हो भने कांग्रेसलाई पनि योपटक जित हासिल गर्न चुनौती नै छ। कारण, पालिकाको भवन अध्यक्ष रानाले आफूखुसी भुम्लिचोकमा राखेको र विकास गर्न नसकेको परिणाम।

कांग्रेसलाई जितका लागि माओवादी र एमालेले समेत उम्मेदवारी दिएको अवस्थामा एकीकृत समाजवादी र जसपाले सहयोग गर्नुपर्ने हुन्छ। त्यसैले काँग्रेसका नेताहरु केन्द्रको निर्देशन अनुसार स्थानीय तहमै गठबन्धन गर्न चाहन्छन्।

यता माओवादी केन्द्रबाट अघिल्लो चुनावमा पराजित भएका तिम्लिसनाले नै दाबी गरिरहेका छन्। उनी अघिल्लो निर्वाचनमा रानासँग पराजित भएका थिए। अघिल्लो पटक थोरै मतले अध्यक्षमा पराजित भएका उनले सत्तारुढ गठबन्धनबीच चुनावी गठबन्धन हुँदा आफूले टिकट पाउनुपर्ने अडान लिएका छन्।

अघिल्लो चुनावमा आफू असफल भएकाले योपटक आफूलाई मौका दिनुपर्ने भन्दै तिम्लिसनाले सत्ताघटक दलहरुसँग समेत लविङ थालेका छन्। अघिल्लो चुनावमा नेकपा माओवादी केन्द्रले पालिकाभित्र ४ वटा वडा जितेको थियो।

त्यसैले माओवादी केन्द्रले आफ्नो दाबी भने छोड्ने देखिँदैन। त्यसैले पनि माओवादीले गाउँपालिकामा आफूलाई गठबन्धनका दलहरूले सहयोग गर्नुपर्ने बताउँदै आएको छ।

८ वटा वडा रहेको गण्डकी गाउँपालिकाको बाँकी चारवटा वडा नेपाली काँग्रेसले जितेको हो। यस्तो अवस्थामा गण्डकी गाउँपालिकाको मात्र नभएर प्रत्येक वडाहरुको समेत चुनाव रोचक हुनेछ।

यस्तै जसपाबाट समेत दुईजनाको नाम चर्चामा छ। अघिल्लोपटक चुनाव उठेका कुमार तिवारी र जसपा गण्डकी गाउँपालिका इन्चार्ज भीम श्रेष्ठको नाम चर्चामा रहेको हो। पछिल्लो समय श्रेष्ठले आफ्नो क्षेत्रमा राम्रो पकड बनाएका कारण उनलाई पार्टीले टिकट दिने सम्भावना रहेको छ।

प्रतिक्रिया