

सत्ता गठबन्धन दलको बैठक भोलि बस्दै

काठमाडौँ– सत्ता गठबन्धनमा आबद्ध दलहरूको बैठक भोलि बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहान साढे १० बजे बस्नेगरी बैठक बोलाएको नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए ।
बैठकमा स्थानीय तहको चुनावका विषयमा छलफल हुनेछ । वैशाख ३० गते एकै पटक देशभरका ७५३ वटा स्थानीय तहमा निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा ५ दलीय सत्ता गठबन्धनमा रहेका दलहरु स्थानीय तहमा पनि तालमेल गरेर उम्मेदवार उठाउने तयारीमा छन् भने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले एक्लै चुनाव लड्ने बताउँदै आएको छ ।
यसअघि, मंगलबार बसेको नेपाली काँग्रेसको बैठकले आवश्यकताका आधारमा गठबन्धनका दलहरूबीच तालमेल गरेर अघि बढ्ने निर्णय गरेको थियो । काँग्रेसले तालमेल गर्ने औपचारिक निर्णय गरिसकेपछि गठबन्धनको बैठक बस्न लागेको हो ।
सत्ता गठबन्धनमा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र जनमोर्चाले आवश्यकताअनुसार स्थानीय तहमा तालमेल गर्नसक्ने निर्णय गरिसकेका छन् । साथै उनीहरुले महानगर र उपमहानगरको हकमा केन्द्रबाटै निर्णय गर्ने तयारी गरेका छन् ।

