

श्रीलङ्कामा आर्थिक सङ्कट : दैनिक १० घण्टा बिजुली कटौती

कोलम्बो – श्रीलङ्कामा आज बुधवारदेखि दैनिक १० घण्टा बिजुली कटौती हुने भएको छ । देशमा ऊर्जा सङ्कट उत्पन्न भएकाले देशव्यापी बिजली कटौती दैनिक रूपमा गर्नुपरेको अधिकारीहरूले बताएका एएफपीले जनाएकाे छ ।
दुई करोड २० लाख जनसङ्ख्या रहेको दक्षिण एसियाली देश श्रीलङ्कामा आर्थिक सङ्कट चुलिएको छ भने विदेशी मुद्राको अभाव भएको छ ।श्रीलङ्कामा प्रयोग हुने बिजुलीमध्ये ४० प्रतिशत बिजुली जलविद्युत् परियोजनामार्फत उत्पादन हुने गरेको छ ।
जलविद्युत् उत्पादनका लागि प्रयोग हुने जलाशय भने अहिले सङ्कटमा रहेका छन् । पर्याप्त वर्षा नभएकाले जलाशयमा पानी कम भएकाले बिजुली उत्पादन पनि कम भएको अधिकारीहरूको भनाइ छ ।
बाँकी बिजुली भने कोइला र तेलबाट उत्पादन गर्ने गरिएको छ । ती दुवै चीज विदेशबाट आयात गर्नुपर्ने र आयातका लागि विदेशी मुद्रा नभएकाले आयात गर्न गाह्रो भएको छ । कोइला र तेलको कमीका कारण बिजुली उत्पादन कम भएकाले विद्युत् प्रवाह पनि कटौती गर्नुपरेको अधिकारीहरूको भनाइ छ ।

