विवेकशील साझा विवाद : रवीन्द्र मिश्रलाई ३ दिने स्पष्टीकरण


काठमाडाैँ- पार्टीभित्रको विवाद उत्कर्षमा पुग्दै गर्दा विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई स्पष्टीकरण सोध्ने निर्णय असन्तुष्ट पक्षले गरेको छ। जेष्ठ सदस्य भीम अधिकारीको नेतृत्वमा सोमबार बसेको बैठकले पार्टीको हित विपरित गतिविधि गरेको ठहर गर्दै मिश्रलाई तीन दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। तीन दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण नदिए मिश्रलाई पार्टीबाट निस्कासन गर्ने तयारी बहुमत पक्षले गरेको छ।

आइतबार केन्द्रीय समिति बैठकमा मिश्रले पार्टीका प्रदेश संयोजकहरु तोक्नुका साथै २६ जना केन्द्रीय सदस्यलाई निष्कासन गर्ने निर्णय सुनाएका थिए। जसले पार्टीमा विवाद चुलिएको छ। मिश्रले एकलौटी रुपमा पार्टी चलाएको भन्दै असन्तुष्ट समूहले सोमबार बैठक बोलाएको थियो। भौतिक उपस्थिति र भर्चुअल माध्यमबाट गरी बैठकमा ९० प्रतिशत भन्दा धेरै केन्द्रीय सदस्य सहभागी भएको दाबी असन्तुष्ट पक्षको छ।

बैठकले आइतबार केन्द्रीय समितिको बैठकमा अध्यक्ष मिश्रले एकलौटी रुपमा गरेको निर्णय अस्वीकार गर्ने निर्णय गरेको छ।पार्टी निर्णय विपरित अन्य पार्टीसँग एकलौटी रुपमा एकीकरणको प्रयास थाल्नु पार्टीको हित विपरित भएको ठहर पनि बैठकले गरेको छ। अध्यक्ष मिश्रले राप्रपासँग पार्टी एकताको प्रक्रिया अघि बढाएपछि पार्टीमा विवाद चुलिँदै गएको छ। यसले पटकपटक टुटफुट बेहोर्दै आएको विवेकशील साझा पार्टी फेरि विभाजन हुने अवस्था सिर्जना भएको छ।

प्रतिक्रिया