
कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि, देउवाले पेलेरै गठबन्धन गर्ने निर्णय गर्लान?
काठमाडौँ- सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ। बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
शुक्रबारबाट केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठक चुनावी गठबन्धनमा केन्द्रीत छ। शुक्रबारको बैठकमा अधिकांश केन्द्रीय सदस्यहरु र रिपोर्टिङ गर्न आमन्त्रित प्रदेश सभापतिहरुले गठबन्धन गर्न नहुने धारणा राखेका थिए। गठबन्धन गर्नपर्ने भए त्यसको औचित्य के हो? गठबन्धन गर्दा कतै भारतीय कंग्रेस आईकै हालत त हुँदैन भनेर चासो व्यक्त गरेका थिए।
सभापति शेरबहादुर देउवाले भने चुनाव पनि नजित्ने, गठबन्धनको विरोध गर्ने भन्दै एक्लै जितेर देखाउन चुनौती दिएका थिए। शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेता कृष्णचन्द्र नेपाली पोखरेल, प्रदीप पौडेल, मोहनबहादुर बस्नेत, कर्णबहादुर बुढा, रमा कोइराला (पौडेल), कृष्णकिशोर घिमिरे, टेकप्रसाद गुरुङ, नैनसिंह महर, गोविन्दबहादुर शाह, दिलमान पाख्रिन, रामहरि खतिवडा, मुक्ताकुमारी यादव, सरस्वती अर्याल तिवारी, हरिशरण नेपाली, जानकी सिंह, प्रा.डा. गोविन्दराज पोखरेल, अजयवावु शिवाकोटी, मदनकृष्ण श्रेष्ठ, दिनेश कोइराला, सीताकुमारी राना, शान्ति परियारले धारणा राखेका थिए।
त्यसैगरी प्रदेश सभापतिहरु- उद्धव थापा (प्रदेशन नं. १), कृष्णप्रसाद यादव (मधेश प्रदेश), इन्द्रबहादुर वानियाँ (बागमती प्रदेश), शुक्रराज शर्मा (गण्डकी प्रदेश), अमरसिंह पुन (लुम्बिनी प्रदेश), ललितजंग शाही (कर्णाली प्रदेश) ले आ–आफ्नो धारणा व्यक्त गरेका थिए।
‘स्थानीय तह निर्वाचनको तयारी एवं ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियानको प्रारम्भिक समीक्षा’र संसदीय समिति गठन लगायत विभिन्न एजेण्डासहित जारी बैठकमा आज पनि चुनावी गठबन्धनबारे सदस्यहरुले धारणा राख्नेछन्। अधिकांशले गठबन्धन गर्न नहुने धारणा राखेका छन्। चितवनमा गठबन्धन गर्न हुँदैन भनेपछि चितवनका कांग्रेस नेतामाथि सभापति देउवा जंगिँदै ठूला कुरा गर्ने भनेर झपारेका थिए।
एक महिने चुनावी अभियानअन्तर्गत जिल्ला खटिएका केन्द्रीय सदस्यहरुले तल्लो तहको जनमत के छ भनेर केन्द्रीय समितिमा प्रस्तुत गरिरहेका छन्। यसैका आधारमा चुनावी गठबन्धनको निर्क्यौल हुनेछ। सभापति देउवा भने गठबन्धन गर्ने अडानमा छन्।



कागजपत्र |
