विद्यालयमा एक लाख ५१ हजारको अक्षयकोष स्थापना


बागलुङ – वार्षिक पुण्यतिथिको अवसरमा बागलुङ नगरपालिका–३ स्थित धौलागिरि वीरेन्द्र माध्यामिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । बागलुङ नगरपालिका–३ स्थित सोही विद्यालयका पूर्वशिक्षक स्वर्गीय घनश्याम शर्मा र श्रीमती बलावती शर्माको नाममा ‘श्री घन बल जेहेन्दार छात्रवृत्ति अक्षय कोष’ स्थापना गरिएको छ ।

विद्यालयमा अध्ययनरत जेहेन्दरा विद्यार्थीलाई छात्रवृत्ति वितरणका लागि स्वर्गीय बाबाको १३औँ वार्षिक पुण्य तिथिका अवसरमा विद्यालयमा रु एक लाख ५१ हजारको अक्षयकोष स्थापना गरिएको परिवारले जनाएको छ । विसं २०३५ देखि यस धौलागिरि वीरेन्द्र माध्यामिक विद्यालयमा सेवारत घनश्याम शर्मा विद्यालयमै कार्यरत हुँदाको बखत २०६५ मा निधन भएको थियो ।

उनको स्मृतिमा आमा वलावती शर्माकोसमेत नाम जोडेर अक्षयकोष स्थापना गरिएको छोरा तथा ‘श्री घनबल जेहेन्दार छात्रवृत्ति अक्षय कोष’ कोषका संरक्षक हिमालप्रसाद शर्माले जानकारी दिए । उक्त कोषको व्याजबाट प्रत्येक वर्ष कक्षा १ देखि १२ सम्मका १२ जना विद्यार्थीलाई दुई हजारका दरले छात्रावृत्ति प्रदान गरिने छ ।

यस्तै पुरस्कार स्थापनाको दिनमा राष्ट्रिय परीक्षा बोर्ड २०७८ मा सर्वाधिक अङ्क ल्याउने तीन जनालाई नगदसहित सम्मान गरिएको थियो । राष्ट्रिय परीक्षा बोर्ड २०७८ मा विद्यालयको साधारण धारतर्फको शिक्षा सङ्काय अन्तर्गत सर्वाधिक अङक ल्याउने मिनाक्षी घर्ती मगर, व्यवस्थापन समूहमा उत्कृष्ट अङ्क ल्याउने लालबहादुर रोका मगर र प्राविधिक धार तर्फ उत्कृष्ट अनुषा शर्मालाई नगद दूई हजारका दरले सम्मानपत्रसहित सम्मान गरिएको थियो ।

प्रतिक्रिया