

एमसीसी नेपालको टेण्डरमा भाग लिन निर्माण व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालका परियोजनाहरु निर्माणका लागि एमसीसी नेपालले गर्ने ग्लोबल टेन्डरमा भाग लिन नेपाली निर्माण व्यवसायीलाई आग्रह गरेका छन् ।
निर्माण व्यवसायीहरुको साझा संगठन नेपाल निर्माण व्यवसायी महासंघको २३औं वार्षिक साधारणसभा काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले ग्लोबल टेन्डरमा भाग लिनको लागि नेपाली व्यवसायीहरुलाई आग्रह गरेका हुन् ।
एमसीसीको टेन्डरबाट नेपाली कम्पनी छानिन सकेमा खुसी लाग्ने भन्दै एमसीसीको ठेक्का लिन देउवाले आग्रह गर्नु भयो । अमेरिकाको कानुनका कारण अन्तराष्ट्रिय बोलपत्र गर्नुपर्ने भन्दै जुनसुकै देशका कम्पनी पनि एमसीसीको परियोजना निर्माणका लागि आउन सक्ने उनले बताए ।
प्रधानमन्त्री देउवाले चीन, भारत वा संसारका जुनसुकै देशका निर्माण व्यवसायीले पनि भाग लिन पाउने भन्दै एसमीसीको ५० करोड डलर सहयोग अन्तरगत ३ सय १५ किलोमिटर प्रसारण लाइन र ७७ किलोमिटर सडक विस्तारको काम हुने बताउनु भयो ।
गृहमन्त्री बालकृष्ण खाँणले बिजुलीको तारमा झुन्डिएर विदेशी सेना नआउने भन्दै विगतमा भएको लोडसेडिङको समस्यालाई सम्झाउँदै उनले त्यही दिन फेरि आउन नदिन एमसीसी परियोजनालाई स्वीकार गरिएको बताए ।
प्रधानमन्त्री देउवाले पद नै धरापमा परे पनि एमसीसी पास गर्ने दृढता देखाएको भन्दै उनले अन्तर्राष्ट्रिय समुदायसामु देशको विश्वसनियता बचाउन पनि एमसीसी परियोजना स्वीकारिएको बताए ।

