


चुनावी गठबन्धनको पक्षमा देउवा –इत्तर समूह विपक्षमा
कांग्रेसमा सत्ता गठबन्धनलाई निरन्तरता दिने कि नदिने विषयमा मतभेद

काठमाडौं – सत्तारुढ नेपाली कांग्रेस भित्र आगामी बैशाख २९ गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनमा रहेका वाँकी चार दलसँग मिलेर जाने वा नजाने भन्ने विषयमा संस्थापन पक्ष र संस्थापनइत्तर पक्षबीच मतेद बढेको छ ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनका दलहरु मिलेर नै तीनै तहको निर्वाचनमा जानु पर्नेमा जोड दिएका छन् । तर संस्थापनइत्तर पक्षका नेता डा. शेखर कोइरालासहित उनी पक्षधर पदाधिकारीले भने गठबन्धनको विपक्षमा धारणा राख्दै आएका छन् ।
कांग्रेस जिल्ला कार्यसमिति पर्साको नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण गर्न विहीबार बीरगंजमा आयोजित समारोहलाई संवोधन गर्दै सभापति देउवाले गठबन्धनका बिरुद्ध अभिव्यक्ति नदिन पार्टी नेता र कार्यकर्तालाई निर्देशन दिएपछि गठबन्धनको विषयलाई लिएर पार्टी पदाधिकारीमा नै मतभिन्नता देखिएको हो ।
देउवाले गठबन्धनको आवश्यकता रहेको भन्दै देउवाले सार्वजनिक कार्यक्रमबाटै चुनावी गठबन्धन विरोधी अभिव्यक्ति नदिन आग्रह गरेका हुन् । सभापति देउवाले पार्टीका केही नेताले गठबन्धनका साथीहरुलाई चिसो पस्ने गरी बोलेका प्रति असहमति प्रकट गरे ।
पार्टी डा. शेखर कोइराला, उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापा लगायतले स्थानीय तहको निर्वाचनमा कांग्रेस एक्लै लड्न सक्षम भएको जनाउँदै गठबन्धन गरेर जान नहुने अभिव्यक्ति दिँदै आएका थिए ।
यसैसाता मात्र मोरङको बिराटनगरमा आफू पक्षधर पार्टी नेता र कार्यकर्ताको भेला आयोजना गरी नेता शेखर कोइराला र उनीपक्षधर नेताहरले आगामी निर्वाचनमा कांग्रेस कसैसँग पनि गठबन्धन नगरी एक्लै चुनावमा होमिने बताएका थिए ।
उपसभापति गुरुङले पोखरामा आयोजित कार्यक्रममा कांग्रेस हात्ति भएकाले कानका वरीपरि ओत लाग्न आएकाहरुलाई जोगाउनकै लागि गठबन्धन गरिरहनु नपर्ने बताएका थिए ।
महामन्त्री गगनकुमार थापाले काठमाडौंमा आयोजित पार्टी कार्यकर्ताको भेलालाई संवोधन गर्दा पनि एमसीसीको पहिले विपक्षमा रहने र पछि पक्षमा लाग्ने गठबन्धन दललाई स्थानीय चुनावमा गठबन्धन गरेर नजाने बताएका थिए ।
पार्टी पदाधिकारीको अभिव्यक्ति एक अर्कामा परस्पर बाझिएको अवस्थामा बुधबार पार्टी उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा भएको पार्टीको पत्रकार सम्मेलनमा समेत पार्टीले सत्ता गठबन्धनसँग मिलेर स्थानीय चुनावमा जान्छ कि जाँदैन भनेर स्पस्ट जवाफ पार्टी केन्द्रीय कार्यसमिति बैठकले मात्र दिने बताएका थिए ।
पार्टीले आगामी फागुन २९ गतेदेखि एक महिनाका लागि घर घर जाउँ कांग्रेस जिताऔं अभियान चाले पनि आम कार्यकर्ता, शुभेच्छुक र मतदाताले सत्ता गठबन्धन हुन्छ कि हुन्न भनेर सन्देश ल्याउन केन्द्रीय प्रतिनिधिहरुलाई दबाब र सु्झाव दिइरहेका छन् ।
स्थानीय तहको आगामी बैशाख २९ गते हुने निर्वाचनमा सत्तारुढ गठबन्धनका दलहरु मिलेर जाने वा नजाने भन्ने विषयमा आधिकारिक र औपचारि निर्णय नगर्दा पार्टीमा शीर्ष नेताहरुबीच नै फरक फरक अभिव्यक्ति आउन थालेको हो ।
एक महिने चुनावी अभियानका ७७ जिल्लामा प्रतिनिधि खटाउँदा देउवाले गठबन्धनका नेताको मनमा चिसो पस्ने गरी अभिव्यक्ति नदिन निर्देशन दिएका थिए । बीरगंजमा बिहीबार अयोजित कार्यक्रममा समेत सभापति देउवाले ०७४ को आमचुनावको परिणाम स्मरण गराउँदै गठबन्धन बनाएरै चुनावमा जानु पर्नेमा जोड दिए ।
‘२०७४ को चुनावमा हाम्रो हालत के थियो ?हामी सबै ठाउँमा चुनाव हारेका थियौं’ देउवाले भने, ‘यो गठबन्धन मिलेर चुनाव लड्दा स्थानीय तहदेखि प्रदेश र केन्द्रमा पनि फेरि हाम्रो सरकार बनाउन सक्छौं ।’
उनले हालको संविधान बमोजिम कुनै पार्टीले बहुमत ल्याउन नसक्ने भन्दै कसै न कसै पार्टीसँग मिल्नुपर्ने आवश्यकता रहेको बताए ।
देउवाले एमाले विभाजन भएपनि सशक्त रहेको भन्दै गठबन्धनका सम्बद्ध दलका नेता कार्यकर्तालाई सशंकित बनाउने भन्दा मिलेर जाने कुरामा लाग्न प्रधानमन्त्री निर्देशन दिए । उनले सबै पार्टीको सहयोगले एमसीसी पास भएको अरुलाई चिढ्याउन नहुनेमा जोड दिए ।

