शोकमा मादी नगरः मृतक चालकबाहेक १३ जना मादी नगरभित्रकै

चैनपुर अस्पतालमा पोष्टमार्टमपछि परिवारलाई शव बुझाइने, ५ घाइतेलाई धरान पठाइयो


चैनपुर – संखुवासभाको मादी नगरपालिका वडा नं. ६ मा भएको यात्रुबाहक बस दुर्घटनामा चालक र सहचालकसहित १४ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परेर मृत्यु भएका चालकबाहेक १३ जना नै मादी नगरपालिकाकै रहेको मादी नगरपालिकाकी उपप्रमुख उर्मिला नेपालले बताइन् । त्यस्तै घाइतेहरूमा पनि ५ मध्ये ४ जना मादि नगरकै रहेको पनि उनले बताइन् । अहिले सबै मृतकको शव चैनपुरस्थित अस्पतालमा ल्याइपुर्याइएको र पोस्टमार्टमपछि परिवारका सदस्यलाई जिम्मा लगाइने तयारी गरिएको पनि उपप्रमुख नेपालले अनलाइनन्यूज७सँगको कुराकानीमा बताइन् ।

मृतकमध्ये चालक तेह्रथुमका रहेको र घाइते एक महिला मादि नगरबाहिरको भएको सुवेदीले बताइन् । ‘अहिले मादी नगर पुरै शोकमग्न छ, यस्तो दुर्घटना भोग्न कसैले नपरोस्, अहिले धेरै बोल्न सक्ने अवस्थामा छैनाैं,’ उपप्रमुख नेपालले भनिन् ।

दुर्घटनामा ज्यान गुमाउनेमा चालक तेह्रथुम औशीडाँडाका ३० वर्षीय विपीन निरौला, मादी–४ का सहचालक ३५ वर्षीय उमेश भट्टराई, मादी–५ का ४५ वर्षीय दिपक दाहाल, ५२ वर्षीय श्याम शेर्पा र ५५ वर्षीय भवानी दाहाल, मादी–६ का ३८ वर्षीय इन्द्रबहादुर अधिकारी, ३८ वर्षीय आइतबहादुर तामाङ, ३५ वर्षीया सविता राउत कार्की, मादी–६ कि अञ्जना कटुवाल र मादी–५ की दिशा कटुवाल रहेको डिएसपी सुवेदीले जानकारी दिए । त्यस्तै मादी नगरपालिकाकै सिता बिक, बल बहादुर कार्की,  समिक्षा योञ्जन र सुदिप घिसिङ रहेको उनले बताए ।

बिहीबार बिहान साढे ७ बजे मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको ४ ख ७३५ नम्बरको बस मादी–६ को सातघुम्ती नजिकै दुर्घटनामा परेको हो ।

गम्भीर घाइते भएका पाँचै जनालाई हेलिकोप्टरबाट थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको उपप्रमुख नेपालले बताइन् । घाइतेहरूमा मादी–५ का सुवाष गोले, युवा पोख्रेल र मादी–६ का तुलसा कटुवाल, अम्बिका विक, डम्बरबहादुर कार्की छन् ।

प्रतिक्रिया