

एक लाख म्यादी प्रहरी भर्ना लिन अर्थकाे स्वीकृति, ४० दिनको तलब भत्ता पाउने

काठमाडौं – स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै अर्थ मन्त्रालयले एक लाख म्यादी प्रहरीको भर्ना लिन स्वीकृति प्रदान गरेको छ । गृहमन्त्रालयले एक लाख १८ हजार म्यादी प्रहरी आवश्यक पर्ने प्रस्ताव पठाए पनि अर्थले एक लाख म्यादीको दरबन्दी स्वीकृत गरेको हो ।
बुधवार गृहमा निर्वाचन सुरक्षासम्बन्धी चारवटै सुरक्षा निकायका प्रतिनिधिको उपस्थितिमा बैठक बसेको थियो । सोही बैठकमा गृहका अधिकारीहरूले एक लाख म्यादीको दरबन्दी स्वीकृत भएको जानकारी गराएका थिए ।
बैठकमा सहभागी एक अधिकारीका अनुसार पोसाक भत्ताका लागि ६ हजार रुपैयाँ समेत विनियोजन भइसकेको छ । यसबाहेक रासन भत्ता सात हजार निकासा भएको छ ।
अरू तलब भत्ता म्यादी प्रहरीकै खातामा जानेछ । बैठकमा सहभागी अधिकारीहरूका अनुसार म्यादी प्रहरीलाई ४० दिनको तलब भत्ता दिइनेछ । चैत दोस्रो साताबाट भर्ना प्रक्रिया सुरु गर्ने तयारी छ ।
आउँदो वैशाख ३० गते स्थानीय तह निर्वाचन हुँदै छ । निर्वाचन आयोगले समेत निर्वाचनको प्रक्रिया सुरु गरिसकेको छ ।
नेपाल प्रहरीसहित चारवटै सुरक्षा निकायले सुरक्षा रणनीतिको गृहकार्य सुरु गरिसकेका छन् । प्रहरी प्रधान कार्यालयले पनि निर्वाचन सुरक्षा रणनीतिका लागि आवश्यक गृहकार्य सुरु गरेको छ ।

