पार्टी जोगाउन एमसीसीमा समर्थन गरेको भनेपछि माधव नेपाललाई बाबुराम भट्टराईको गम्भीर प्रश्न


काठमाडाैँ – सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको अस्तित्व र एमालेले कारबाही गर्न खोजेका आफूसहित १४ सांसदको पद जोगाउन आफूले अमेरिकी अनुदान सहायता सम्झौता एमसीसी अनुमोदनमा सहमति जनाएको बताएपछि सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले टिप्पणी गरेका छन्।

डा. भट्टराईले एमसीसी राष्ट्रिय हितमा भएकाले पास गरेको कि आफू सरकारबाट बाहिरिनुपर्थ्याे भनेर हो भनी अध्यक्ष नेपाललाई प्रश्न गरेका हुन्। आफ्नो पार्टी समाप्त हुन्छ भनेर एमसीसीमा सहमाति जनाइएको हो भने राष्ट्रिय हितभन्दा पार्टीगत स्वार्थ ठूलो हो भनेर डा. भट्टराईले सोधेका छन्।

‘एमसीसी अनुदान सम्झौता संसदबाट पारित गरिएको राष्ट्रिय हितमा भएकाले हो कि पास नगरिएको भए सरकारबाट बाहिरिनुपर्थ्यो वा पार्टी नै समाप्त हुन्थ्यो भनेर हो’, डा. भट्टराईले सामाजिक सञ्जालमार्फत प्रश्न गरेका छन्, ‘राष्ट्रिय हितभन्दा पार्टीको हित वा सत्ता स्वार्थलाई माथि राख्नु कति ठीक हो? राष्ट्रिय हितविपरीत भए पास गर्न मिल्छ? यो कस्तो राजनीति हो?’

प्रतिक्रिया