पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री देउवा


काठमाडौं – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनबारे पार्टीले गर्न लागेको ‘एक महिने अभियानबारे जानकारी दिन पत्रकार सम्मेलन गर्ने भएका छन् ।

आज (बुधबार) दिउँसो ३ बजे सभापति देउवाले पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलनको आयोजना गरेको काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

काँग्रेसले यही फागुन २९ गतेदेखि चैत २९ गतेसम्म ‘घरघर जाऔं,काँग्रेस जिताऔँ’ अभियान सञ्चालन गर्दैछ ।

कांग्रेसले स्थानीय तहको निर्वाचन लक्षित अभियान सञ्चालनका लागि देशका ७७ वटै जिल्लामा पदाधिकारी र केन्द्रीय सदस्य खटाएको छ। फागुन २९ देखि चैत २९ सम्म एक महिने अभियान अन्तर्गत कांग्रेसले देशभर केन्द्रीय प्रतिनिधि परिचालन गरेको हो। सोही अनुरुप सभापति शेरबहादुर देउवाले स्थानीय तह केन्द्रित चुनावी अभियान घोषणा गर्ने छन्।

अभियान अन्तरगत फागुन २७ भित्र केन्द्रीय प्रतिनिधि जिल्लामा पुगिसक्नुपर्ने छ। केन्द्रीय सदस्यहरूलाई केन्द्रीय प्रतिनिधिका रूपमा जिल्ला र स्थानीय तह खटाइएको हो।

सभापति देउवाले केन्द्रीय प्रतिनिधिलाई जिल्ला जानुअघि मंगलबार निर्देशन दिँदै गठबन्धन दल र प्रमुख प्रतिपक्षी एमालेलाई चित्त दुख्ने गरी अभिव्यक्ति नदिन नेताहरुलाई निर्देशन दिएका थिए।

प्रतिक्रिया