निगमले आईओसीलाई बुझायो १४ अर्ब ३० करोड


काठमाडौं – नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आईओसी)लाई १४ अर्ब ३० करोड रुपैयाँ बुझाएको छ । निगमले मार्च महिनाको पहिलो किस्तावापत उक्त रकम बुझाएको हो । निगमले हरेक अंग्रेजी महिनाको ८ र २३ तारिखमा आईओसीलाई भुक्तानी गर्दै आएको छ ।

निगमले इन्धन बिक्री गरेवापत आर्जन गरेको १० अर्ब ५ करोड र नपुग ४ अर्ब २५ करोड स्थिरीकरण कोषबाट झिकेर मंगलबार आईओसीलाई बुझाएको हो । कच्चा तेलको मूल्य उच्च दरले बढिरहँदा अबका दिनमा आपूर्तिमा चुनौती थपिएको निगमले बताएको छ ।

कोषमा अब ४ अर्ब ४५ करोड रुपैयामात्रै बाँकी छ । सरकारले २०७१ चैतदेखि स्वचालित मूल्य प्रणाली लागू गरेपछि निगमले पेट्रोलियम पदार्थ र ग्यासको खुद्रा बिक्रीको एक प्रतिशत रकम कोषमा जम्मा गर्दै आएको छ । निगमले आईओसीलाई तिर्न अपुग रकम पनि स्थिरीकरण कोषबाट झिक्दै आएको छ ।

सरकारले पेट्रोलियम पदार्थको मूल्यमा स्थिरता कायम गर्न विसं २०७१ मा ‘पेट्रोलियम पदार्थ तथा ग्यासको मूल्य स्थिरिकरण कोष (सञ्चालन) नियमावली’ जारी गरेको थियो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य लगातार उकालो लाग्दा निगमको घाटा पनि चुलिँदै गएको छ । पेट्रोलियम पदार्थको खरिद मूल्य बढ्दै जाँदा मूल्य समायोजन गर्दा समेत घाटामा देखिएको छ । अब निगमले दोस्रो किस्ताबापत आइओसीलाई २३ तारिखमा रकम बुझाउनुपर्ने छ ।

 

प्रतिक्रिया