राजश्व संकलन गरेर ढुकुटीमा थन्काउने प्रवृतिले तरलता अभावः पूर्वगभर्नर नेपाल


काठमाडाैँ – नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले राजश्व संकलन गरेर ढुकुटीमा थन्काउने प्रवृतिले तरलता अभाव भएको बताएका छन् । मंगलबार  पत्रकारहरुसँग कुरा गर्दै डा.नेपालले राजश्व संकलन गरेर ढुकुटीमा थन्काउने तर खर्च नगर्ने प्रवृतिले तरलता अभाव भएको बताएका हुन् । यस्तै उनले विश्वका कुनै पनि मुलुकमा सरकारले राजश्व उठाएर राष्ट्र बैंकमा थुपारेर राख्ने प्रचलन नभएको समेत बताए । उनले सरकारले यस्तो रकम केही बैंकसँग समन्वय गरेर रकम सञ्चालन गर्न दिएर राष्ट्र बैंकले नियमन गर्दा मात्रै बजारमा तरलता सहज हुने दाबी गरे ।

बैंकहरूबाट हुने कर्जा विस्तारमा नेपाल राष्ट्र बैंकले लगाम लगाउन नसक्दा बजारमा तरलता अभाव भएको उनको भनाइ छ । यस्तै उनले पछिल्लो समय मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण स्थितिमा पुगेको बताए । राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत अर्थतन्त्र सन्तुलनमा राख्ने प्रयास गरे पनि विदेशी मुद्रा सञ्चिति घट्दै जाँदा थप चुनौतीपूर्ण देखिएको बताए । चालु आर्थिक वर्षको सुरुवातदेखि रेमिट्यान्स लगातार रूपमा घट्दै जाँदा विदेशी मुद्रा सञ्चितिमा प्रभाव परेकाले अर्थतन्त्र थप चुनौतीपूर्ण स्थितिमा पुगेको बताएका हुन् ।

उनले नेपाल राष्ट्र बैंकसँग मुलुकमा ६ महिनाको लागि मात्रै वस्तु आयात धान्न सक्ने सञ्चिति रहेको जानकारी दिए । अन्तर्राष्ट्रिय मुद्रा कोषले इर्मजिङ अर्थतन्त्रको लागि ६ महिनाको आयात धान्न सक्ने विदेशी सञ्चिति हुने गर्ने बताएको उनको भनाइ छ । डा. नेपालले विदेशी मुद्रा सञ्चिति थ्रोस होल्डको मार्जिनमा नै आएकाले कुनै नीतिगत सुधारसमेत गर्न सक्ने अवस्था नभएको उल्लेख गरे । सरकारले अर्थतन्त्र सहज बनाउनको लागि तत्काल विदेशी सहयोग अनुदानको लागि पहल गर्नुपर्ने नेपालले बताए ।

सरकारले चालु आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धिदर हुने लक्ष्य राखे पनि पूरा नहुने पूर्वगभर्नर नेपालले दाबी गरे । उनले अहिलकै अवस्थामा अर्थतन्त्र चल्ने हो भने राजश्व संकलनको लक्ष्यसमेत पूरा नहुने बताए । त्यस्तै, पूर्वगभर्नर नेपालल रुस र युक्रेनबीचको तनावले नेपालमा पट्रोलियम पदार्थ तथा खाने तेलको मूल्य अझै वृद्धि हुनसक्ने बताए । उनले पट्रोलियम पदार्थ तथा खाने तेलको सहज आपूर्तिको लागि समयमा नै आपूर्ति गरेर भण्डारण गर्न सरकारलाई सुझाव दिए ।

उनले सरकारले दुई देशबीचको तनाव कहिलेसम्म रहने निश्चित नभएकाले खानेतेल लगायत कच्चा पदार्थको आपूर्तिमा समस्या भएर अभाव हुन सक्ने बताए । रुस र युक्रेनबीचको तनावले पट्रोलियम पदार्थ तथा खाने तेल लगायत खाद्यान्नको समेत मूल्य वृद्धि हुने भएकाले सरकारले पट्रोलियम पदार्थमा लगाउँदै आएको कर घटाउनु पर्ने नेपालले बताए । उनले सरकारले पट्रोलियम पदार्थको खपत घटाएर विद्युतीय खपतमा जोड दिनुपर्ने बताए ।

पूर्वगभर्नर नेपालले नेपालमा सामान्य भन्दा सामान्य वस्तु पनि विदेशबाट आयात गरिने त्यसको लागि विदेशी मुद्रा खर्च गर्नु बताए । उनले डलर खर्च गर्न डलर आउने स्रोत पनि रेमिटेन्स ५ महिनादेखि कम हुँदै गएकाले थप समस्या आउने बताए ।

प्रतिक्रिया