लुक्लाकाे वनमा लागेको आगो निभाउन नसकेपछि हेलिकप्टर काठमाडाैं फिर्ता


साेलुखुम्बु – खुम्बुपासाङ ल्हामु गाउँपालिका २ मा रहेकाे सामुदायिक वनमा लागेको डढेलो अझै निभाउन सकिएकाे छैन ।  सिम्रिक एअरको हेलिकप्टरले पानी खन्याएर आगो निभाउने प्रयास गरे पनि सफल हुन नसकेकाे बताइएको छ ।

हिजाे आइतवार रातिदेखि सुरु भएकाे आगलागी नियन्त्रणमा लिन फायर फाइटिङसहितको हेलिकप्टर आज साेमवार बिहानदेखि खटिएको भए पनि आगो झन् फैलिएकाे जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएकाे छ ।

आगो निभाउन नसकेपछि हेलिकप्टर काठमाडाैं फर्किएको छ । आगो निभाउन प्रहरी र स्थानीयवासी खटिरहेका छन् । अहिले हेलिकप्टर कम्पनी र प्रदेश प्रहरी कार्यालयसँग समन्वय भइरहेको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

धुवाँले गर्दा आज बिहान झन्डै एक घण्टा विमानस्थल नै बन्द भएको नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ । विमानस्थल नजिकैको जङ्गलमा लागेको आगोको धुवाँले धावन मार्ग नै ढाकेपछि विमानस्थल नै बन्द गरिएको हो ।

आगोका कारण सल्ला, उत्तिस लगायतका प्रजातिका बोटबिरुवाहरू धेरै मात्रामा नष्ट भइसकेको स्थानीयवासीले बताएका छन् । खुम्बुपासाङ ल्हामु गाउँपालिका २ लुक्लाको हरियाली सामुदायिक वनमा आगलागीको कारण पत्ता लाग्न सकेको छैन ।

प्रतिक्रिया