भोकले अत्तालिएका रुसी सेनालाई जब युक्रेनीले खाना दिए . . .


किभ – बुधबार एक रुसी सेनाले युक्रेनियनहरु सामु आत्मसमर्पण गरिसकेपछि रुँदै आफ्नी आमालाई फोन गरेको भिडियो यतिबेला रुस र युक्रेन दुवै देशमा भाइरल भएको छ । उक्त भिडियोमा भर्खरको उमेरका ती रुसी सेनालाई हतियार फालिसकेपछि वरपरका महिलाहरुले सम्झाउँदै फकाउँदै गरेको देखिन्छ ।

एक महिलाले उनको ढाडमा सुम्सुम्याउँदै ‘सबै ठीक हुन्छ ठीक छ’ भनिरहेको देखिन्छ । यसपछि उनलाई त्यहाँका सबैले चिया दिन्छन् । चिया पिउँदै उनले रुँदै आमासँग पनि कुरा गरिरहेका छन् जहाँ स्थानीयले नै उनको हातमा फोन दिइरहेको देखिन्छ ।

आमासँग कुरा गर्दागर्दै रोएका ती रुसी सैनिकलाई सबैले हौसला दिन्छन् । एक महिलाले त फोनमा बोल्दै उनकी आमालाई ‘तपाईंको छोरा जिवित र स्वस्थ छ’ पनि भनिरहेकी छन् ।

त्यहीँ भीडमा उभिरहेका एक युक्रेनियनले पुरुषले भनेका छन्, ‘यसमा यी युवाहरुको कुनै गलती छैन । यिनीहरुलाई त यहाँ किन आएको पनि थाहा रहेनछ । उनीहरु पुरानो नक्साको प्रयोग गरिरहेका रहेछन् त्यसैले हराइरहेका छन् ।’

सबैतिर भाइरल बनेको यस भिडियोको तल लेखिएको छ , ‘रुसी सेना तिमीहरु आत्मसमर्पण गर युक्रेनीयन जनताले तिमीलाई खान दिनेछन् । तिमी केबल समर्पण गर । ’

त्यस्तै यसमा धेरैले ती सैनिक कति जवान छन् भन्ने बारेमा पनि चर्चा गरेका छन् । यसअघि युक्रेनको रक्षा मन्त्रालयले त्यसरी पक्राउ परेका जवान सेनाहरुलाई तिनका आमाले आएर लैजान सक्ने बताएका थिए ।

मस्कोलाई लज्जास्पद तुल्याउने प्रयास अन्र्तगत युक्रेनले रुसी अभिभावकका लागि एउटा टेलिफोन हटलाइन पनि राखिदिएको छ ।

एक प्रमाणित सामाजिक संजाल पोस्टमा आफ्ना छोरा त्यसरी युक्रेनमा पक्राउ परेको पाएमा तिनका आमाहरुले रुसदेखि युक्रेनको राजधानीसम्म यात्रा गर्न सक्ने भनिएको छ । यसमा युक्रेनी मन्त्रालयले इमेल–एड्रेस र फोन नम्बर पनि दिएको छ जस मार्फत कुनै सेना पक्राउ परेको या मारिएकाबारे थाहा पाउन सकिनेछ । यसपछि उनीहरु बेलारुसबाट पोलिस सिमाना सम्म ट्याक्सीमा आउन सक्छन् र त्यहाँबाट उनीहरुलाई हस्तान्तरण गर्ने ठाउँसम्म पुर्याइनेछ ।

एक युक्रेनी अधिकारीले लेखेका छन्, ‘हामी युक्रेनियनहरु पुटिन जस्तो क्रुर छैनौँ । हामी आमा र तिनका कैद बच्चाहरुसँग लड्दैनौँ । हामी उनीहरुलाई किभमा पर्खिएर बस्नेछौँ ।’

विभिन्न रिपोर्टका अनुसार अहिले धेरै रुसी सेनाहरुले या त युद्धबाट भाग्ने या आत्मसमर्पण गर्ने प्रयास गरिरहेका छन् । यसमा रुसी सेना बलसँग खानेकुरा र इन्धन दुवै सकिँदै गएको हुँदा भोकले आत्तिएका धेरैले लुटपाटको तरिका अपनाइरहेको र कतिले चाहिँ खानका लागि आफ्नो सैन्य पहिरन र हतियार समेत त्यागिरहेको पाइएको छ ।

अवरुद्ध रेडियो सन्देशहरुले पनि रुसी सेनाले युक्रेनियन शहर जलाउन, भत्काउन, नष्ट गर्न लगायतका आदेश मान्न अस्वीकार गरिरहेको देखिएको छ । जस्तै अर्को एक भिडियो फुटेजमा पनि पक्राउ परेका एक रुसी सैनिक रुँदै आफूलाई किन त्यहाँ आएको भन्ने थाहा नभएको बताइरहेका छन् । शान्ति सेना भनेर किन युद्धमा पठाइएको भन्ने आफूले बुझ्न नसकेको उनले दाबी गरिरहेका छन् ।

त्यस्तै एक घाइते रुसी सैनिकले भनेका छन्, यो हाम्रो युद्ध होइन । आमा दिदी बहिनीहरु आफ्ना पति र छोराछोरी लैजानुहोस् । हामी यहाँ रहन आवश्यक नै छैन ।’

रुँदै गरेका अर्का रुसी कैदिले पनि भनेका छन्, ‘यहाँ कसैको शव पनि उठाइँदैन कुनै अन्त्येष्टि समेत गरिँदैन ।’ शव छुने बित्तिकै रसियन फेडेरल सेक्युरिटी सर्भिस (एफएसबी) ले गिरफ्तार गर्ने गरिएको उनले बताए ।

पक्राउ परेका केही सैनिकहरुले बताए अनुसार युद्धमा लड्न अस्वीकार गरे उनीहरुलाई गोली हानेर मार्ने भनिएको थियो ।

यसअघि एक वरिष्ठ अमेरिकी अधिकारीले न्युयोर्क टाइम्ससँग कुरा गर्दै कतिपय रुसी सेनाहरुले निदोर्षलाई मार्नु नपरोस् भनेर आफ्नै ट्यांकमा जानीजानी प्वाल पारिरहेको समेत देखिएको बताएका थिए ।

त्यस्तै अन्य प्राप्त रेडियो सिग्नलका अडियोमा चाहिँ सेनाहरुलाई सुरुवातमा युक्रेन सजिलै कब्जा गर्न सकिने ठूलो लडाईँ लड्नु नपर्ने भनिएको पनि पत्ता लागेको छ ।

पक्राउ परेका अधिकांश रुसी सेनाले आफूहरु सिमा क्षेत्रमा प्रशिक्षण लिइरहेको भन्ने ठानेको र पछि मात्र युक्रेन हमलामा पठाइएको थाहा पाएको बताउने गरेका छन् ।

युक्रेनका राष्ट्रपति भोलोदमिर जेलेन्स्कीले गए रातिको वक्तव्यमा पनि हजारौँ रुसी सैनिकहरु पक्राउ परेको दाबी गरेका छन् ।

युक्रेनियन सेना, सिमा क्षेत्रका सुरक्षाकर्मीदेखि साधारण किसानले समेत हरेक दिन सयौँ सङ्ख्यामा रुसी सेनालाई पक्रिएको उनले बताएका छन् ।

यसरी युक्रेनी सेना भन्दा दर्जनौँ गुणा बढी सङ्ख्यामा भएपनि शत्रुको मनोबल लगातार घटिरहेको उनले थप भनेका छन् ।

युक्रेनी जनता र अन्तर्राष्ट्रिय समुदायबाट व्यापक प्रशंसा र समर्थन पाइरहेका जेलेन्स्कीले भोका रुसी सेनाहरु युक्रेनका सुपरमार्केटमा लुटपाट मचाइरहेको आरोप पनि लगाएका छन् ।

उनी भन्छन्, ‘उनीहरु कुनै शक्तिशाली योद्धा होइनन् केबल द्विविधामा परेका बच्चाहरु हुन् । तरपनि उनीहरुले यहाँ शान्ति पाउन सक्दैनन्, यहाँबाट खानेकुरा लिन सक्दैनन् । उनीहरु सबैले हाम्रो कहिल्यै हार नमान्ने शैलीलाई सधैँ याद राखिरहनेछन् ।’यअसघि जेलेन्स्कीले रुसले युक्रेनी जनता, युक्रेनको इतिहास र एउटा सिङ्गो देशलाई नै मेटाउने प्रयास गरिरहेको आरोप लगाएका थिए । डेलीमेलबाट

प्रतिक्रिया