प्रेस युनियनको महाधिवेशन चैतभित्रै गर्न माग


काठमाडौं – श्रमजीवि क्रियाशिल पत्रकारहरुको साझा संगठन नेपाल प्रेस युनियनको महाधिवेशन आगामी चैत महिना भित्रै गर्न युनियनका पूर्वपदाधिकारी र युनियनका नेताहरुले माग गरेका छन् ।

युनियनको महाधिवेशनको लागि दबाब दिने उदेश्यले विहीबार राजधानीमा आयोजित ‘महाधिवेशन पक्षधर पत्रकारहरुको भेला’का सहभागीहरुले विधान विपरित केन्द्रीय समिति चल्नु लाजमर्दो भएको बताएका हुन् ।

युनियनका संस्थापक तथा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहालले लोकतन्त्रबादी श्रमजीवि संगठनले पदाधिकारीहरुको कार्यकाल विधान विपरित पाँच वर्षसम्म लम्ब्याउनु लाजमर्दो विषय भएको बताए ।

‘नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक दलको शुभेच्छुक संस्थाको महाधिवेशन कुनै न कुनै बहानामा लम्ब्याउनु भनेको संगठनको ख्याति, प्रतिष्ठा र मूलभूत चरित्रमाथि नै आघाता पुर्याउनु हो’, दाहालले भने, ‘प्रेस युनियनको केन्द्रीय कार्यसमिति अबैधानिक भएको थाहा पाउँदा पाउँदै पदमा बस्ने पत्रकार साथिहरुको प्रतिष्ठामाथि पनि गम्भीर प्रश्न उठेको छ ।’

नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष कुलचन्द्र वाग्लेले युनियनको आवधिक महाधिवेशन अनेक बहानामा नगर्नु दुखद पक्ष भएको भन्दै पार्टीले युनियनलाई हस्तक्षेप गर्न नहुने बताए ।

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तथा बरिष्ठ पत्रकार धमेन्द्र झाले २०७१ मा युनियनको बर्तमान केन्द्रीय समिति निर्वाचित भएपछि नेपाल पत्रकार महासंघको तीन वटा र नेपाली कांग्रेसको दुई वटा महाधिवेशन सम्पन्न भईसकेको भन्दै अबै केन्द्रीय समितिका पदाधिकारी र सदस्य हुँ भन्ने बैधानिकता पनि गुमाई सकेको बताए ।

नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष तथा सूचना आयोगका पूर्वआयुक्त किरण पोखरेलले श्रमजीविहरु संगठन नेपाल प्रेस युनियनबाट पार्टीमा प्रतिनिधि पठाउने प्रावधान हटाउनु पर्ने भन्दै महाधिवेशन गर्न केन्द्रीय सदस्य र हरेक जिल्ला समितिबाट दबाब दिनु पर्ने बताए ।

युनियनका पूर्ववरिष्ठ उपाध्यक्ष तथा छापामाध्यम राष्ट्रिय सञ्जालका अध्यक्ष दामोदर प्रसाद दवाडीले केन्द्रीय समितिमा रहने सदस्यहरुले पनि अध्यक्ष र पदाधिकारीलाई सुझाव र दबाब दिन नसक्दा महाधिवेशन नगरी पद ओगटेर बस्न मनपराउनेको हाबी भएको बताए ।

युनियनका पूर्वमहासचिव शिव लम्सालले आफू सल्लाहकारको हैसियतले नियमित महाधिवेशन गर्न सु्झाव दिए पनि महाधिवेशनको मिति तोक्ने तर महाधिवेशन नगर्ने परिपाटीबाट आफू पनि लज्जित भएको बताए ।

युनियनका केन्द्रीय सदस्य दिलिप पौडेल र ठाकुर बेलवासेले नियमित महाधिवेशनको लागि आफूहरुले अध्यक्ष र पदाधिकारीहरुलाई बारम्बार आग्रह गर्दा पनि कुनै सुनुवाई नहुने र उल्टै बाईपास गर्ने गरेको गुनासो गरे ।

पत्रकार महासंघका पूर्वसचिव रामजी दाहाल, जगत नेपाल, पूर्वकोषाध्यक्ष जुनारबाबु बस्नेत, बरिष्ठ पत्रकार तेजप्रकाश पण्डित, युनियनको उपत्यका समितिका पूर्वसंयोजक लिलाराज खनाल,काठमाडौं युनियनका अध्यक्ष जगन्नाथ दुलाल, युनियनको भोजपुर जिल्लाका पूर्वअध्यक्ष तीर्थ बस्नेत, युनियनकी नेतृ रोजी पराजुली लगायतले अनेक बहानामा महाधिवेशन टार्नुभन्दा चाँडो महाधिवेशन गर्न अध्यक्ष र युनियनका पदाधिकारीलाई दबाब दिनु पर्ने बताए ।

प्रतिक्रिया