

कांग्रेस जिल्ला अधिवेशन: नेतृत्वका लागि त्रिपक्षीय दौड

महोत्तरी – नेपाली कांग्रेस महोत्तरीको नेतृत्व चयनका लागि भोलि २० फागुनमा हुन लागेको निर्वाचनमा त्रिपक्षीय भिडन्त हुने भएको छ। जिल्ला सभापतिको लागि यहाँ तीनजना मैदानमा उत्रिएका छन्।
नेता रामचन्द्र पौडेल पक्षधर प्यानलबाट बजरङ्ग नेपाली र सभापति शेरबहादुर देउवा पक्षधर प्यानलबाट नागेश्वर यादव र सुशील यादवले उम्मेदवारी दिएका छन्। पौडेल पक्षकै केहि नेताले देउवा प्यानलका उम्मेदवार नागेश्वर यादवलाई समर्थन गरिरहेको स्थानीय कार्यकर्ताको भनाइ छ।
पौडेल समूहका भनेर चिनिने रामचन्द्र तिवारी र किरण यादवले देउवा समूहका उम्मेदवारलाई समर्थन गरेपछि पौडेल प्यानलवाट उम्मेदवारी दिएका बजरङ्ग नेपाली अल्पमतमा पर्ने निश्चित रहेको उनीहरूको दावी छ।
तर, आफ्नै प्यानलका उम्मेदवारलाई रामचन्द्र र किरणले किन असहयोग गरिरहेका छन् भन्ने बिषय नेताकार्यकर्ताबीच चर्चामा छ। पौडेल समूहकै छलफलबाट उम्मेदवार बनेका नेपालीलाई अन्तिम समयमा आएर धोका हुन लागेको पौडेल समुहको निष्कर्ष छ।
‘अधिवेशन त निश्चित भयो तर, आफ्नै प्यानलका नेताहरुले धोक्का दिने स्थिति बन्दैछ,’ कांग्रेस महोत्तरीका सचिव सम्भु पाठकले भने।
पौडेल प्यानलमा समेत रहेका पाठकले बजरङ्ग नेपालीले जित्ने निश्चित हुँदाहुँदै रामचन्द्र तिवारी र किरण यादवले विपक्षी प्यानलमा लविङ गरेको आरोप लगाए।

