पार्टी नछाड्न नारायणकाजीलाई प्रचण्डको आग्रह


काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नेता नारायणकाजी श्रेष्ठलाई पार्टी नछाड्न आग्रह गरेका छन् ।

अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ बिच आज बिहान प्रचण्ड निवासमा छलफल भएको थियो। छलफल पार्टी एकता कायम गर्ने विषयमा केन्द्रित रहे पनि निष्कर्षविहीन भएको स्रोतले बताएको छ ।

एमसीसी संसदबाट व्याख्यात्मक घोषणासहित पास गर्ने निर्णयमा श्रेष्ठ असन्तुष्ट छन् । संसदबाट एमसीसी पास भइसकेपछि पनि श्रेष्ठले आफ्नो विमति सार्वजनिक गर्दै आएका छन् ।

एमसीसी संसदबाट अनुमोदन भइसकेपछि आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले नारायणकाजीलाई लक्षित गर्दै पार्टीबाट अलग हुनसक्ने अभिव्यक्ति दिएपछि यी दुई नेताबिच दुरी बढेको छ ।

आज बिहानक‍‍ो छलफलमा प्रचण्डले पार्टीबाट अलग नहुन आग्रह गरेका थिए । तर श्रेष्ठले “मलाई अलग हुने मन नहुँदा नहुँदै पनि तपाईँले नै अलग्याउन खोज्नुभएको छ” भनेको स्रोतले बताएको छ ।

रुष्ट नारायणकाजीलाई फकाउने प्रयासमा यसअघि अध्यक्ष प्रचण्ड र वर्षमान पुन ९अनन्त०ले नारायणकाजीको निवास हात्तीवनमा पुगेर छुट्टाछुट्टै छलफल गरेका थिए । प्रचण्डले एमसीसीमा मतभेद भएपनि अरू विषयमा मिलेर अघि बढ्न प्रस्ताव गरेका थिए ।

यसबीचमा नारायणकाजी श्रेष्ठले आफू पक्षका केन्द्रीय सदस्यहरूको छुट्टै बैठक राखेर पार्टीको पछिल्लो अवस्थाबारे छलफल समेत गरेको श्रेष्ठ निकट एक नेताले बताए ।

प्रतिक्रिया