

तेस्रो विश्वयुद्ध विनासकारी र आणविक युद्ध हुनेछ : रुसी विदेश मन्त्री

काठमाडौं – रुसका विदेशमन्त्री सर्गेई लाभरोभले आफ्नो देशले युक्रेनलाई आणविक हतियार प्राप्त गर्न नदिने बताएका छन्। उनले तेस्रो विश्वयुद्ध विनासकारी र आणविक युद्ध हुने चेतावनी पनि दिएका छन्।
युक्रेनसँगको वार्ताका विषयमा लाभरोभले रुस युक्रेनसँगको दोस्रो चरणको वार्ताका लागि तयार रहेको तर युक्रेन अमेरिकाको इशारामा चलिरहेको आरोप लगाएका छन्। एक दिनअघि, लाभरोभले युक्रेन आणविक हतियार प्राप्त गर्न प्रयासरत रहेको बताएका थिए। उनले भनेका थिए, ‘यो ठूलो खतरा हो र यसलाई रोक्न आवश्यक छ।’
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले हालै आफ्ना आणविक सेनालाई विशेष सतर्कता अपनाउन आदेश दिएका छन्। अमेरिकालगायत धेरै देशले यसको आलोचना गरेका छन्। तर युक्रेनमा सैन्य कारबाही सुरु गर्दा पुटिनले युक्रेनको मामिलामा कुनै विदेशीले हस्तक्षेप गरे त्यसले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्। बीबीसी

