अब मोबाइल वालेटबाटै ऋण


काठमाडौं –  नेपाल राष्ट्र बैंकले मोबाइल वालेटबाटै ऋण लिन पाउने व्यवस्था गर्ने भएको छ । मोबाइल वालेट प्रयोगमा लोकप्रियता बढेसँगै त्यसबाट सानो आकारको ऋण लिने सुविधासमेत दिन लागेको हो । राष्ट्र बैंकले चालू आर्थिक वर्ष (आव) को मौद्रिक नीतिमा मोबाइल वालेटबाट ऋण प्रवाह गर्ने व्यवस्थाका लागि आवश्यक अध्ययन गर्ने उल्लेख थियो । यसको अध्ययनपश्चात् ऋण प्रवाहसम्बन्धी निर्देशन जारी गर्ने राष्ट्र बैंकले बताएको छ ।

अहिलेसम्म वालेटबाट मोबाइल रिचार्ज, टेलिफोन, इन्टरनेट, खानेपानीलगायत युटिलिटी बिल भुक्तानी, अनलाइन कारोबारको बिल तिर्नेलगायत सुविधा उपलब्ध छन् ।

राष्ट्र बैंकले माघ अन्तिम साता बैंक तथा वित्तीय संस्थाले पनि विद्युतीय माध्यमबाटै ५ लाख रुपैयाँसम्म कर्जा लिन सक्ने व्यवस्था गरेको छ । विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जासम्बन्धी मार्गनिर्देशन–२०७८ अनुसार बैंक तथा वित्तीय संस्थाले तलबी खाता भएका ग्राहकलाई अधिकतम ५ लाख र अन्य ग्राहकलाई २ लाख रुपैयाँसम्मको कर्जा विद्युतीय माध्यमबाट दिन सक्छन् ।

बैंकहरूले वालेटहरूलाई प्रतिनिधि नियुक्त गरेर समेत यस्तो कर्जा प्रवाह गर्न सक्ने व्यवस्था गरिएको छ । उनीहरूले कर्जा आवेदनदेखि असुलीसम्मका काममा सहजीकरण गर्न सक्नेछन् । वालेट कम्पनीहरू भर्खरै खुल्दै गरेको र उनीहरूसँग पर्याप्त पूर्वाधार तथा क्षमता नभएकाले तत्कालका लागि बैंक तथा वित्तीय संस्थाहरूले मात्र विद्युतीय कर्जा दिन पाउने व्यवस्था गरिएको कार्यकारी निर्देशक  गुरुप्रसाद पौडेलले बताए ।

प्रतिक्रिया