४ हजार बिलासी कार बोकेको जहाज आन्ध्र महासागरमा डुब्यो
एजेन्सी - पोर्चुगलको अजोर्ज टापुुसमूहभन्दा पर आन्ध्र महासागरमा हजारौँ विलासी कार बोकेको एउटा पानी जहाज डुबेको छ ।
उक्त जहाजले पोर्श र बेन्टलीसहित झन्डै ४ हजार बिलासी कार बोकेको थियो । उक्त जहाज जर्मनीको बन्दरगाहबाट अमेरिकातर्फ हिँडेको थियो । लगभग २ साता अगाडि अर्थात फेब्रुअरी १६ मा आगलागी भएपछि जहाजको चालक दलका सबै सदस्य र कर्मचारीलाई उद्धार गरिएको थियो ।
यद्यपि जहाजबाट तेल चुहिएको कुनै समाचार आएको छैन । यद्यपि इन्धन ट्याङ्कमा भने क्षति पुगेको फाइअल टापुबन्दर्गाहाका प्रमुख जोआओ मेन्जिस काबेससले बताएका छन् । पानीमा डुबेको जहाज आन्ध्र महासागरमा झन्डै ३५०० मिटर मुनी पिँधमा पुगेको बताइएको छ । यसबाट कोही पनि घाइते नभएको र सबै २२ कर्मचारीहरुको उद्धार गरिएको पोर्चुगलको जलसेनाले जनाएको छ ।
कार निर्माता कम्पनी फक्सवागनका अनुसार उसले पठाएको कारको बिमा गरिएको थियो । रोयटर्सका अनुसार यसको कुल मूल्य १५।६ करोड डलरको हाराहारीमा रहेको छ । डुबेको जहाजमा आफ्नो १८९ कार रहेको बेन्ट्लीले जनाएको छ भने पोर्शका अनुसार त्यसमा उसका ११०० कार थिए ।