

कच्चा तेलको भाउ ११ वर्षयताकै उच्च, नेपालमा कस्तो पर्ला प्रभाव ?

काठमाडौं – रुस–युक्रेन तनावले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ ह्वात्तै बढेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनमा ‘सैन्य कारबाही’ घोषणा गरेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ ११ वर्षयताकै उच्च बिन्दुमा पुगेको हो । मंगलबार एकैदिन झण्डै चार प्रतिशतले बढेर ब्रेन्ट कच्चा तेलको मूल्य ११ वर्ष यताकै उच्च बिन्दुमा पुगेको आयाल प्राइस डटकमले जनाएको छ ।
मंगलबार ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल १०९.६ सेन्ट डलर पुगेको छ । जुन १ मार्च २०११ को भन्दा १.२ डलरले कम हो । सो दिन प्रति ब्यारेल ब्रेन्ट कच्चा तेलको मूल्य डलर ११०.४ सेन्ट थियो । विश्वकै दोस्रो ठूलो तेल उत्पादक रसियालाई अमेरिका, युरोपेली युनियन लगायतले नाकाबन्दी लगाएपछि आपूर्ति अवरुद्ध हुँदा तेलको मूल्य एक्कासी बढेको हो ।
साथै, दुई मुलुकबीच युद्ध चर्किने देखिएपछि ठूला लगानीकर्ताहरुले सुरक्षित लगानीका रुपमा तेलमा लगानी गर्न थाल्दा मूल्य आकाशिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । ठूला लगानीकर्ताहरु सुरक्षित लगानीका क्षेत्रहरु तेल, सुन, डलरमा लगानी गर्न थालेको बताइएको छ । जसले सुनको भाउ एक वर्षयताकै उच्च बिन्दुमा पुगेको छ भने अमेरिकी डलर र जापानी येन बलियो भइरहेका छन् ।
अन्तर्राष्ट्रिय बजारमै तेलको मूल्य बढेपछि त्यसको प्रभाव नेपालमा पनि पर्ने भएको छ । नेपालमा शतप्रतिशत तेल विदेशबाटै आयात हुने भएकाले अन्तर्राष्ट्रिय बजारको प्रभाव यहाँ पनि पर्ने देखिन्छ । यसैपनि नेपालमा पछिल्लो ६ महिना यता लगातार तेलको मूल्य भाउ बढाउँदै आइएको छ । अहिले अन्तर्राष्ट्रिय बजारमै कच्चा तेलको भाउ बढेपछि नेपालमा पनि बढ्ने देखिन्छ ।

