

मित्रपार्कको खाजापसलमा आगलागी, १० लाख बढीको क्षति

काठमाडौं – काठमाडौं महानगरपालिका—७ मित्रपार्कमा बुधबार बिहान आगलागी भएको छ ।
विद्युत सर्ट भई गौरी शंकर दासको टहरामा बुधबार बिहान आगलागी हुँदा चाबहिल बस्ने काभ्रे घर भएका माईला तामाङको माईला खाजा पसल र दोलखाका श्याम बस्नेतको दोलखा खाजा घर पूर्णरुपमा जलेर नष्ट भएको छ । आगलागीमा करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।
त्यस्तै इलामको सूर्योदय नगरपालिका-१ माने बस्ने कुमार तामाङको घरमा करेन्ट सर्ट भई मंगलबार साँझ आगलागी हुँदा नजिकै जोडिएको निमा तामाङको घरमा समेत फैलिएर दुबैजनाको गरी करिब ८० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरी, सशस्त्र प्रहरी बल, दमकल र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

