इ-अपोइन्टमेन्ट प्लेटफर्ममा स्टार अस्पताल, डाक्टर समय अनलाइनबाटै लिन सकिने


काठमाडौं – सानेपास्थित स्टार अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट सेवा शुरू भएको छ । इ-सेवा र कोजेन्ट हेल्थको सहकार्यमा शुरू भएको इ-अपोइन्टमेन्ट प्लेटफर्ममा स्टार अस्पताल आबद्ध भएसँगै अनलाइन अपोइन्टमेन्ट सेवा सुरू भएको अस्पतालले जानकारी दिएको छ।

अस्पतालका अनुसार अब डाक्टरसँगको परामर्शका लागि अपोइन्टमेन्ट बुकिङ तथा भुक्तानी इ-सेवा मोबाइल एप्लिकेशनमार्फत गर्न सकिनेछ। इ-सेवा मोबाइल वालेटभित्र हेल्थ सेक्सनमा गइ स्टार अस्पताल छनोट गरी आफूलाई सहज हुने मिति र समय छनोट गरी डाक्टरको अपोइन्टमेन्ट बुक गर्न र डिजिटल रूपमा तत्काल भुक्तानी गर्न सकिने र अपोइन्टमेन्ट प्रणालीले बिरामीलाई लाइनमा बस्नुपर्ने झन्झटबाट मुक्ति दिने अस्पतालले जनाएको छ ।

यो सेवाले ओपीडी सेवाहरू चुस्त बनाउने र बिरामीहरूको सन्तुष्टि बढाउने अपेक्षा अस्पतालले लिएको छ । कोजेन्ट हेल्थ र इ-सेवाले अस्पतालहरूमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरू गरेसँगै यस प्लेटफर्ममा आबद्ध हुने अस्पतालको संख्या बढ्दो छ । ​

कोजेन्ट हेल्थ स्वास्थ्य सूचना प्रविधि क्षेत्रको प्रवर्द्धनात्मक कम्पनी हो । यसले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) मा आधारित अस्पताल तथा स्वास्थ्य संस्थाका व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटलाइज गर्दै आएको छ ।

प्रतिक्रिया