

भारतीय प्रधानमन्त्री मोदीनिकट जर्नेल बक्सी भन्छन्– नेपाल राजासहितको हिन्दू राष्ट्र हुनुपर्छ

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीनिकट मानिएका तथा सत्तानिकट थिंक ट्यांकका एक जना सदस्य पूर्व मेजर जर्नेल जीडि बक्सीले नेपाली राजनीतिक परिवेशमाथि डरलाग्दो विचार प्रवाह गरेका छन्।
नेपालमा प्रतिनिधि सभा विघटनको विषयमा उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत भनेका छन्,‘प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गरेको समाचार छ, यसले नेपाललाई हिन्दू राष्ट्र र राजा फर्काउनेहरूका लागि जाग्ने कमद हो। नेपाल राजासहितको हिन्दू राष्ट्र हुनुपर्छ।’
नेपालको राजनीतिक अवस्थाका विषयमा भारतीय कुटनीतिक निकायहरू तथा राजनीतिक तहमा खासै टिप्पणी भएको छैन। भारतीय विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा ‘नेपालको आन्तरिक मामला’भएको प्रतिक्रिया आएको थियो।
तर सत्तारुढ भारतीय जनता पार्टी तथा प्रधानमन्त्री मोदीका अतिनिकट मानिने बक्सीका ट्वीटले भने नेपालमा हिन्दूत्वको आन्दोलन जाग्ने र नेपालमा राजा फर्किने गम्भीर संकेत गरेको छ।
चीनविरुद्ध बारम्बार विचार राख्ने उनको एउटा ट्वीटमा भनिएको छ,‘विश्वमा नेपाल एउटा मात्र हिन्दू राजसंस्था भएको मुलुक थियो। तर माओवादीको उदयले त्यस देशलाई चीनमा विकाउने काम भयो।’
बेलामौका टेलिभिजन अन्तरवार्ताका क्रममा आक्रोशित भावमा प्रस्तुत भएका कारण विवादमा आउने जर्नेल बक्सीले राष्ट्रपति विद्यादेवी भण्डारी र नेपालका लागि चिनियाँ राजदूत होउ यान्कीबीच भएको भेटका बारेमा पनि टिप्पणी गरेका छन्।
उनी लेख्छन्,‘चीनले नेपालको आन्तरिक मामलामा सक्रियताका साथ चासो दिएको छ, चीन कम्युनिस्ट पार्टी मिलाएर नेपालको संवैधानिक राजतन्त्रसहितका हिन्दू राष्ट्र बन्ने विषयमा हस्तक्षेप गरिरहेको छ।’
प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गराएपछि नेपालमा राजसंस्था र हिन्दूत्व फर्किन सक्ने कतिपयको दाबी छ। यहिबेला आइतबार पूर्वराजा ज्ञानेन्द्र शाह झापा बसाईका लागि पूर्वरानी कोमलसहित जाँदैछन्।
झापा हुँदै भारतको पश्चिम बंगाल छिर्ने र नयाँ दिल्लीसम्म उनको भ्रमण हुनसक्ने अनुमानित विवरण बाहिर सार्वजनिक भएका छन्। पूर्वराजाको झापा भ्रमणको मितिसँगै नेपालसँग नजिक रहेका भारतीय राज्य आसाममा त्यहाँका गृहमन्त्री तथा मोदीको तुलनात्मक शक्ति मानिएका अमित शाह पुग्दैछन्।

