

आफूलाई भोगाएको नियती प्रचण्डले भोग्न लागेको राप्रपा अध्यक्ष थापाको कथन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टी विभाजनताका प्रधानमन्त्री रहेका पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगलाई प्रभाव पारेको नियती आफैं भोग्न लागेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत उनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारिकता र चुनाव चिन्हको विवादको सन्दर्भमा निर्वाचन आयोगले दिन सक्ने निर्णयलाई संकेत गर्दै त्यसो भनेका हुन्।
उनको ट्वीटको संकेत नेकपाको आधिकारिकता प्रभावका आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टीले नै पाउन सक्नेतिर लक्षित छ।
उनी लेख्छन्,‘पार्टी वैधानिकताको दावी गर्दै निर्वाचन आयोगमा प्रचण्डले निवेदन दिँदै गर्दा म राप्रपा विभाजनको घटना सम्झिरहेको छु। तत्कालीन प्रम प्रचण्डको प्रत्यक्ष दवाव र प्रभावमा त्यसवेला विना सनाखत कानुनविपरीत आयोगले राप्रपा विभाजन घोषणा गरेको थियो। प्रचण्डले त्यही नियति भोग्नु नपरोस।मेरो शुभकामना।’
राप्रपा विभाजन भएपछि पशुपति शमशेर राणाहरूले हलो चुनाव चिन्ह पनि लगेका थिए। त्यसबेला थापाले राप्रपा नेपाल पार्टीको नाम राखेर गाई चुनाव चिन्ह लिनु परेको थियो।

