संसद् बैठक बस्दै, के हाेला एमसीसी ?


काठमाडौँ – आज प्रतिनिधि सभाको बैठक बस्दै छ। यसअघि लगातार दुई पटक स्थगित भएको बैठक आज दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ। अमेरिकी सहायता परियोजना सम्झौता मिलेनियम च्यालेन्ज कर्पाेरेस (एमसीसी) प्रक्रिया संसदबाट अघि बढाउने विषयमा सत्तागठबन्धनबीच नै सहमति नहुँदा संसद् बैठक स्थगित हुँदै आइरहेको छ।

गत आइतबार संसदमा टेबुल भएको एमसीसीमाथि बिहीबार नै छलफल थाल्ने भनेर बैठक आह्वान भए पनि बैठक नै नबसी शुक्रबारको लागि सारियो। शुक्रबार पनि सत्ता गठबन्धनबीच एमसीसीकै विषयमा सहमति नहुँदा बैठक बसेन। उक्त बैठक आज बस्दै छ। यसअघिका दुवै बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा सभामुख अग्निप्रसाद सापकोटाले स्थगित गराएका थिए।

संसदको अवरोध हटाएर एमसीसी पास गर्नका लागि प्रधानमन्त्री देउवाले वार्ता र दौडधुप बाक्लो बनाएका छन्। उनल सत्तागठबन्धनका दलसँगै प्रमुख विपक्षी दल एमालेका शीर्ष नेतासँग छलपल गरिरहेका छन्। तर, छलफल निष्कर्षमा पुग्न सकेको छैन।

आज आइतबा बस्ने संसद् बैठकमा एमसीसीमाथिको छलफल पनि समावेश छ। एमसीसीबारे ठोस निर्णय गर्न सत्ता गठबन्धनका माओवादी केन्द्र र एकीकृत समाजवादीको निर्णायक बैठक पनि संसद् बैठक अघि बस्दै छ। यी दुई पार्टीले आजको बैठकबाट एमसीसी अघि बढाउने निर्णय नगरे गठबन्धन भत्काएर एमालेका माग पुरा गरेर एमसीसी पास गर्ने प्रधानमन्त्री देउवाको तयारी छ। एमालेले माधवकुमार नेपालसहितका १४ सांसदलाई पदमुक्त गर्नुपर्ने र सभामुखले राजीनामा दिनुपर्ने माग राखेको छ।

प्रतिक्रिया