शिक्षाको बजेट २० प्रतिशत बनाउन मन्त्री पौडेलको आग्रह


काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षामा २० प्रतिशत बजेटको व्यवस्था गर्न आग्रह गरेका छन् । शुक्रबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलसँग मन्त्री पौडेलले शिक्षा सुधारका लागि उक्त बजेट व्यावस्था गर्न आग्रह गरेका हुन् ।

विद्यालय शिक्षा, उच्च शिक्षा, प्राविधिक शिक्षा र विज्ञान तथा प्रविधिको क्षेत्रमा आवश्यक बजेट नभएको भन्दै बजेटको आकार बढाउनुपर्ने उनको माग रहेको छ । उनले विद्यालय शिक्षामा सबै माध्यमिक विद्यालयमा पुस्तकालय, विज्ञान प्रयोगशाला र सूचना तथा प्रविधि, सबै शिक्षकका लागि तालिमको व्यवस्था, विपन्न छात्रवृत्तिको दायरा र रकममा वृद्धि, सात प्रदेशमा नमुना आवसिय केन्द्रीय विद्यालय स्थापना, विद्यालयको नक्शांकन, अंग्रेजी, गणित र विज्ञानका लागि तीन हजार शिक्षकका लागि दरबन्दी सिर्जनालगायतका कार्यक्रम मन्त्रालयले योजनामा राखेको जानकारी दिए ।

उनले उच्च शिक्षामा ५० प्रतिशत सरकारी र सामुदायिक कलेजहरूको भवन निर्माण गर्ने, गुणस्तरीय शिक्षक उत्पादनका लागि शिक्षक तयारी पाठ्क्रम तथा पठनपाठनमा सुधार र शिक्षा विषय अध्ययन गराउने कलेजहरूको स्तरोन्निति, प्राविधिक धार (९–१२)को शैक्षिक कार्यक्रम ७५३ स्थानीय तहमा पुरर्याउने लक्ष्य रहेको बताए । यस्तै, मन्त्रालयले विज्ञान तथा प्रविधिको क्षेत्रमा सबै प्रदेशमा नाष्टको क्षेत्रीय कार्यालयहरू सञ्चालन गर्ने तयारी गरेको छ । त्यसको लागि पनि बजेट बढाउन आवश्यक रहेको उनले बताए । शिक्षामा संविधानले २० प्रतिशतको ग्यारेन्टी गरेको बताउँदै आयोगका उपाध्यक्ष डा. पौडेलले यो वर्ष शिक्षामा बजेट थप्ने विषयमा आफू सकारात्मक रहेको बताए ।

प्रतिक्रिया