बैतडीमा सेनाले दिएको रगतले बच्यो सुत्केरीको ज्यान


बैतडी – नेपाली सेनाले दिएको रगतले बैतडीमा एक सुत्केरीको ज्यान बचाइएको छ । बच्चा जन्माउन नसकेपछि जिल्ला अस्पतालमा शल्यक्रिया गर्दा अत्यधिक रक्तस्राव भएर छट्पटाइरहनुभएकी सुर्नया गाउँपालिका–२ लिस्किटाकी २० वर्षीया सरस्वती पाण्डेको ज्यान नेपाली सेनाको रक्तदानले बचाइएको अस्पतालका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए ।

सदरमुकामस्थित हनुमानध्वज गुल्ममा कार्यरत सेनाका अमल्दार बालकृष्ण विष्ट र प्युठ टीकाराम विकले दिएको एक÷एक पिन्ट रगतले ती सुत्केरीको ज्यान बाँचेको हो। जिल्ला अस्पतालमा सुत्केरी व्यथा लागेर दुई दिन अगाडि भर्ना भएकी सरस्वतीले शल्यक्रियाबाट बच्चा जन्माइन् । सरस्वतीको ‘बी पोजेटिभ’ ब्लड गु्रप रहेको र यहाँ ब्लड बैंक नहुँदा सेनाको गुल्ममा खबर गरिएको थियो । सूचना अधिकारी पन्तले भने, ‘शल्यक्रियामार्फत बच्चा जन्माउनु भएकी उनको शरीरमा रगतको कमी भई बेहोस भएपछि सेनालाई गुहारेका थियौँ, सेनाले दिएको रगतबाट सुत्केरीको ज्यान जोगाउन सफल भयौँ ।’

शल्यक्रियापछि बिरामीलाई डडेल्धुरा अस्पताल रेफर गरिएको र अहिले आमा र शिशुको स्वास्थ्य सुधार हुँदै अस्पतालले जनाएको छ । अस्पतालले रगत आवश्यक भएको खबर गरेकाले तत्कालै रगत दान गरिएको गुल्मपति तथा सेनानी खिलबहादुर रानाले बताए। उनले भने, “अस्पतालले रगत आवश्यक परेमा हामीलाई सधैँ खबर गर्ने गर्दछ, सेनाले दिएको रगतले धेरैको ज्यान जोगिएको छ ।” बैतडीमा रक्तसञ्चार केन्द्र (ब्लड बैंक) नहुँदा रगतको आवश्यकता पर्दा सेना र प्रहरीकै भर पर्नुपर्ने बाध्यता रहेको छ ।

प्रतिक्रिया