एमसीसी विरोधी प्रदर्शनमा आवश्यकताभन्दा बढी बल प्रयोग नगर्नू : मानवअधिकार आयोग


काठमाडाैँ – अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताको विरोधमा भइरहेका प्रदर्शनमा आवश्यकताभन्दा बढी बल प्रयोग भएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगले सरकारको ध्यानाकर्षण गराएको छ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले बिहीबार विज्ञप्ति जारी गर्दै एमसीसी सम्झौताको विरोधमा विभिन्न राजनीतिक दल, तिनका भ्रातृ संगठनका कार्यकर्ता तथा सर्वसाधारणले विगत केही दिनदेखि गर्दै राजधानी काठमाडौंमा गरिरहेको प्रदर्शनको क्रममा हिंसात्मक गतिविधि भएकोप्रति आयोगले सरकारको ध्यानाकर्षण गराएको हो।

प्रदर्शनमा भइरहेको बल प्रयोगप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै आयोगले प्रदर्शनकारीमाथि धेरै बल प्रयोग नगर्न सरकारलाई आग्रह गरेको हो।  विरोध प्रदर्शनको स्थलगत तथा विभिन्न माध्यममार्फत नजिकबाट अनुगमन गरिरहेको आयोगले जनाएको छ।

आयोगले प्रदर्शनको क्रममा हिंसात्मक कार्य नगर्न पनि आन्दोलनकारीलाई सचेत गराएको छ।
‘शान्तिपूर्ण रुपमा भेला हुने, विरोध प्रदर्शन गर्ने र असहमति जनाउने संवैधानिक तथा मौलिक हक भए तापनि विरोध र असहमतिको नाममा हिंसात्मक कार्य हुनु अत्यन्त दुःखद र खेदजनक छ,’ प्रवक्ता पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

आयोगले नागरिकको शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने मानव अधिकारको सम्मान गर्न, आवश्यकताभन्दा बढी बल प्रयोग नगर्न र शान्ति सुरक्षा कायम गर्दा संयमित हुन पनि सरकारलाई आग्रह गरेको छ।

आयोगले विरोध प्रदर्शनलाई शान्तिपूर्ण बनाउन, सर्वसाधारण व्यक्तिका सम्पत्ति र भौतिक संरचनाहरुमा क्षति नपु¥याउन, विरोध प्रदर्शन गर्दा संयमित हुन तथा आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारको उपभोगमा अवरोध नपुर्याउन विरोध प्रदर्शनमा उत्रिएका राजनीतिक दल, राजनीतिक दलका भ्रातृ संगठन तथा सर्वसाधारणलाई समेत आग्रह गरेको छ।

विगत केही दिनदेखि एमसीसीको विरोधमा काठमाडौँको नयाँ बानेश्वर क्षेत्रलाई केन्द्रीत गरी भएको विरोध प्रदर्शनको क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा केही सुरक्षाकर्मी र आन्दोलनकारी घाइते भएका छन्।

प्रतिक्रिया