
आजको संसद् बैठक अघि कांग्रेस–एमालेबीच होला त सहमति?
काठमाडौँ– सत्तारुढ नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच निरन्तर संवाद चलिरहेको छ। बिहीबार मात्रै शीर्ष नेताहरुबीच दुई चरणको वार्ता भयो। वार्ता सकारात्मक रहेको भनिएको छ। संसदमा टेबुल भएको एमसीसी अनुमोदन गराउने शर्तमा कांग्रेसले एमालेका माग पुरागर्ने बर्ताको छ। अब अन्तिम अवस्थामा परिस्थिति बदलिएन भने आजको संसदको बैठक बस्नुअघि नै नेपाली कांग्रेस र एमालेबीच सहमतिमा हस्ताक्षर हुने छ।
केही दिनयता भएका लगातारका बैठकपछि कांग्रेस–एमालेले वर्तमान सत्ता गठबन्धन तोडेर अमेरिकी परियोजना एमसीसी संसदबाट पास गर्ने गरी नयाँ समिकरण बनाउन लागेका हुन्।
बिहीबार संसद भवन नयाँ बानेश्वर र साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली तीन वटा मुख्य एजेण्डामा सहमति नजिक पुगेका केही उच्च नेताहरूले जनाएका छन्।
दुवै पक्ष आफ्ना अडानमै रहेकाले सहमतिमा नपुगेको भन्दै नेताहरू बालुवाटार बैठकबाट बाहिरिए पनि अहिलेको सत्ता गठबन्धन तोड्ने, सभामुखमाथि महाअभियोग लगाउने र एमसीसी पास गर्ने मुख्य बुँदामा दुई प्रमुख दल सहमति नजिक पुगेको कांग्रेसका एक नेताले बताए।
‘संभवतः शुक्रबार संसद बैठकअघि नै सहमतिको एउटा खाका आउला, नभए पनि आइतबारसम्म त टुंग्याउनै पर्ने हुन्छ’, ती नेताले भने, ‘एमसीसी पास गर्ने गरी अगाडि बढ्न सभामुख हटाउनु पर्ने हुन्छ अनि अहिलेको गठबन्धन पनि रहँदैन।’
तर सहमतिको यस्तो खाकामा एमाले र कांग्रेस दुवै पार्टीका नेताहरू विश्वस्त भैसकेका छैनन्। त्यसैले आआफ्नो पक्षको अन्तिम रणनीति तय गर्न बिहीबार राति अबेरसम्म पनि बालुवाटारमा कांग्रेस र बालकोटमा एमालेका नेताहरू बसिरहेका छन्।
बालुवाटारबाट निस्केपछि एमालेका नेताहरूले कांग्रेससँग सहमति उन्मुख भएजस्तो देखिएपनि गठबन्धन कायम रहेको र मन्त्रीहरू गाडीमा झण्डा हल्लाउँदै हिंडिरहेसम्म विश्वस्त हुन नसकिने प्रतिक्रिया दिएका छन्।
बिहीबारका छलफलमा सहभागी भएका एमाले उपाध्यक्ष विष्णु पौडेलले कुनै निष्कर्षमा नपुगिएको बताए।
एमालेकै अर्का उपाध्यक्ष सुवास नेम्वाङले भने शुक्रबारको छलफलले एउटा निष्कर्ष निकाल्न सक्ने बताए। ‘प्रधानमन्त्रीले तपाईंहरूका माग पूरा गर्न सकारात्मक छु भन्नु भएको छ, शुक्रबार एउटा निष्कर्षमा पुग्न सकिन्छ भन्ने छ’, नेम्वाङले भने, ‘गठबन्धनप्रति तीब्र असन्तुष्टी छ प्रधानमन्त्रीमा।’
देउवा र ओलीबीच पटक पटक छुट्टै छलफल भएकाले सामुहिक वार्तामा सहभागी नेताहरू यकिनसाथ भन्न सक्ने अवस्थामा देखिँदैनन्।
एमालेका नेताहरूकै कुरासँग मिल्ने गरी कांग्रेसका नेताहरूले पनि समझदारी बनिनसकेको बताएका छन्। सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले त साँझको बैठकपछि पनि अहिलेको गठबन्धन कायम रहेको बताएका छन्। उनले बैठकपछि कांग्रेसले संसद खुलाउन र मिलेर एमसीसी पास गर्न आग्रह गरेको र एमालेले माधव नेपालसहितका १४ जना सांसद वा सभामुख हटाउन र गठबन्धन तोड्न माग गरेको प्रतिक्रिया दिएका छन्।
कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले कार्कीको ब्रिफिङ नै सही रहेको बताए।
‘प्रधानमन्त्रीले ओलीजीलाई तपाईंहरूले संसदमा पुर्याएको एमसीसी पास गरौं भन्नु भयो, ओलीले हाम्रो दुई वटा माग पूरा गर्नुस् भन्नुभयो’, खड्काले भने, ‘अरु कुरा ज्ञानेन्द्र कार्कीजीले जे भन्नु भयो त्यही नै हो।’
कार्कीले बिहीबार साँझसम्म गठबन्धन नटुटेको बताएपनि शुक्रबार नै टुट्नसक्ने अवस्था पनि छ। किनभने एमालेले पहिला गठबन्धन टुटेको हेर्न चाहेको संकेत कांग्रेसलाई गरेको छ।
एमसीसी संसदमा टेबल गर्ने क्रममै गठबन्धनका खासगरी कांग्रेस र माओवादी–एकीकृत समाजवादीबीच चलेको रस्साकस्सी बिहीबार संसद बैठकमा छलफलमा लैजान नै माओवादी–समाजवादी पक्षले अस्वीकार गर्न खोजेपछि निर्णायक बनेको हो।
त्यसलगत्तै संसद बैठक रोकेर प्रधानमन्त्री देउवाले ओलीसँग संसद भवनमै छलफल गरेका हुन्। तर भैदियो के भने देउवा–ओली भेटलगत्तै ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पनि भेट भयो, जहाँ प्रचण्डले एमसीसी रोक्न मिलेर अगाडि बढ्न प्रस्ताव गरे। एमालेका केही नेताहरूले प्रचण्डले ओलीलाई प्रधानमन्त्रीकै प्रस्ताव गरेको दाबी गरेपनि माओवादी पक्षले त्यसलाई अस्वीकार गरेको छ।
‘ओलीलाई प्रधानमन्त्री प्रस्ताव गरेको होइन’, माओवादीका वरिष्ठ नेता नेता नारायणकाजी श्रेष्ठले भने, ‘एमसीसी असफल पार्न एमाले स्पष्ट भएर आउनु पर्यो, सदन पनि सुचारु गरौं भनेको हो।’
श्रेष्ठले माओवादीसँग पनि ओलीले १४ जना सांसदको निस्कासन वा सभामुख हटाउने अडान लिएको बताए। माओवादी नेता श्रेष्ठका अनुसार पनि कांग्रेस र एमाले अहिलेको गठबन्धन तोडेर अगाडि बढ्ने कुरामा सहमति नजिक पुगिसकेका छन्।



कागजपत्र |
