संसद् विघटनविरुद्धका मुद्दामा आज सुनुवाई हुँदै


काठमाडौं – संसद् विघटनविरुद्धका सबै १३ वटा रिट निवेदनको आज (शुक्रबार) संवैधानिक इजलासमा सुनुवाइ सुरू हुँदैछ ।

यसअघि बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा अरू पनि भएकाले संवैधानिक इजलासमा हेर्ने भन्दै अन्तरिम आदेश दिएको थिएन ।

बुधबार रिट निवेदकका तर्फवाट वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने, शम्भु थापा, दिनेश त्रिपाठी, हरिहर दाहाल, कृष्णप्रसाद भण्डारी लगायतले बहस गरेका थिए ।

बहसपछि प्रधानन्यायाधीश राणाले प्रतिनिधिसभा विघटन गर्ने एउटै धारा ७६ मात्रै भएकाले त्यसबारेको ब्याख्या संवैधानिक इजलासले गर्ने बताएका थिए ।

राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सभामुखलगायतलाई विपक्षी बनाई नेकपाको दाहाल(नेपाल समूहका सांसदको एउटा संयुक्तसहित १३ वटा रिट दायर भएका छन् ।

रिट निवेदकहरूले प्रतिनिधिसभा विघटनसम्बन्धी सम्पूर्ण कामकारवाही र सो सिफारिसका आधारमा भएरगरेका सम्पूर्ण कार्य नेपालको संविधानको धारा १३३ को उपधारा २ र ३ बमोजिम बदर गर्न निवेदनमा माग गरिएको छ ।

प्रतिनिधिसभा विघटन गरेसंगै राजनीति एकाएक तरंगीत हुँदै सबैको ध्यान सर्वोच्च अदालतमा छ । सर्वोच्चको फैसलाले नै सरकारी निर्णयलाई बैधानिकता प्रदान गर्ने या गैरकानूनी ठहर गर्न सक्नेछ ।

प्रतिक्रिया