एमाले जनताबाट जन्मिएको पार्टी हो, फेरी उदाउँछ : ओली


काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनबाट एमाले पार्टी फेरि उदाउने बताएका छन् ।

आफ्नो जन्मदिनको अवसरमा बालकोटमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै ओलीले एमाले जनताबाट जन्मिएको, हुर्किएको, जनताका लागि बनेको पार्टी भएको बताउदै एमाले पार्टी फेरि उदाउने बताएका हुन् ।

उनले भने ‘एमाले फेरि आउँछ किनभने यो जनताबाट जन्मिएको, हुर्किएको, जनताका लागि बनेको पार्टी हो, जनताको सुख समृद्धिका लागि बनेको पार्टी हो, त्यसैले यसले जनताको स्नेह प्राप्त गर्छ,’ अध्यक्ष ओलीले भने, ‘मैले जनताको माया पाएको छु, एमालेले फेरि पनि त्यो सहयोग पाउँछ ।’

ओलीले आफूलाई फाँसीको माग गर्दै जेल सजाय हुँदासमेत जनताको माया र सहयोग पाएर जेलमुक्त भएको र अहिले जनताको मायाले नै राज्य सञ्चालन गर्ने ठाउँमा पुगेको बताए ।

उनले एमालेले युद्व नहारेको दाबी गरे । ‘एमालेले एउटा मोर्चामा हारेको हुनसक्छ, तर त्यत्तिले युद्धको हार हुँदैन । हामीले समग्र युद्ध हारेका छैनौं । एउटा मोर्चा हारेका हौं । त्यसैले हामी आउँछौं,’ उनले भने । अध्यक्ष ओली बुधबारदेखि ७० वर्ष पूरा भएर ७१ वर्ष लागेका छन् ।

प्रतिक्रिया