युक्रेनमा रहेका नेपालीको विवरण संकलन गर्न सुरु


काठमाडौं – परराष्ट्र मन्त्रालयले युक्रेनमा रहेका नेपालीको विवरण संकलन गर्न सुरु गरेको छ । रुस र युक्रेनबीच तनाव बढेपछि आवश्यक परेको बेला उद्धार गर्न सहज होस् भन्ने उदेश्यले विवरण संकलन गरिएको परराष्ट्रले जनाएको छ ।

‘अहिले हामी युक्रेनमा के कति नेपाली रहेका छन् भन्ने विवरण संकलन गरिरहेका छौं,’ परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भनिन्, ‘आवश्यक परेको बेला उद्धार गर्न सहज होस् भनेर विवरण संकलन गरेका हौं ।’

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलबार पूर्वी युक्रेनमा सेना पठाउने निर्णय गरेपछि त्यहाँको अवस्था थप तनावपूर्ण भएको छ । पुटिनले दोनेत्स्क र लुहान्स्क मा शान्ति स्थापना गर्न सेना पठाउने निर्णय गरेका हुन् ।

पुटिनको यो निर्णयसँगै संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को आपत्कालिन बैठक बसेको थियो । बैठकमा अमेरिकी स्थायी प्रतिनिधिले रुसको विरोध गरेकी थिइन् । बैठकमा नेटो सदस्य राष्ट्रले पनि रुसको विरोध गरेका थिए ।

रुस र युक्रेनबीच जुनसुकै बेला युद्ध हुने सम्भावना बढेपछि नेपालले युक्रेनमा रहेका नेपालीको विवरण संकलन गर्न सुरु गरेको हो ।

‘युक्रेनमा ३४ जना नेपाली स्थायी व्यापार, व्यवसाय गरेर बसेको जानकारी हामीले प्राप्त गरेका छौं । थप डेढ सय देखि २ सय जना नेपाली युरोप र अमेरिका जाने सिलसिलामा युक्रेनमा रहेको थाहा भएको छ,’ प्रवक्ता लम्सालले भनिन् ।

युक्रेनमा रहेका नेपालीमध्ये कसैले पनि उद्धारको लागि आग्रह गरेका छैनन् । उद्धार गर्नुपरे तयारी अवस्थामा रहेको परराष्ट्रले जनाएको छ ।

युक्रेनलाई जर्मनीस्थित नेपाली दूतावासले हेर्ने गर्छ । युक्रेनको अवस्था र त्यहाँ रहेका नेपालीको विवरण संकलन गर्न मन्त्रालयले जर्मनीस्थित नेपाली दूतावासलाई निर्देशन दिइसकेको छ । दूतावासले युक्रेनमा रहेका नेपालीको विवरण संकलन कार्य गरिरहेको छ ।

‘कसैले उद्धार गर्न अनुरोध गरे हामी गर्छौं । हामी तयारी अवस्थामा छौं,’ प्रवत्ता लम्सालले भनिन् ।

अहिले नेपालले युक्रेनमा विकसित घटनाक्रमलाई वस्तुपरकरुपमा नियालीरहेको उनले जनाइन् । कुनै जटिल अवस्था सृजना भए तुरुन्त निर्णय लिइने उनले बताइन् ।

वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०७८÷७९ सुरु भएपछिको ६ महिनामा १३५ जना नेपालीले युक्रेन जानको लागि श्रम स्वीकृति लिएका थिए ।

विभागका अनुसार साउनमा २२, भदौमा २५, असोजमा २५, कात्तिकमा ११, मंसिरमा २४ र पुसमा २८ जनाले युक्रेन जान श्रम स्वीकृति लिएका थिए ।

 

प्रतिक्रिया