‘एमसीसी’ सम्झौता सम्बन्धमा राष्ट्रिय सहमति जरुरी छ : उपराष्ट्रपति पुन


काठमाडाैं – उपराष्ट्रपति नन्दबहादुर पुनले एमसीसी सम्झौताकाे सम्बन्धमा राष्ट्रिय सहमति जरुरी रहेकाे बताएका छन् । आज सोमवार अन्तर्राष्ट्रिय मातृभाषा – २०२२ का उपलक्ष्यमा नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको मातृभाषा राष्ट्रिय कविता महोत्सव – २०७८ लाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले ‘एमसीसी’ शब्द उच्चारण नगरि यसमा राष्ट्रिय सहमति आवश्यक रहेको धारणा राखेका हुन् ।

उनले देशमा राष्ट्रिय, अन्तर्राष्ट्रिय विषयहरूमा मतभिन्नता प्रकट भइरहेको भन्दै दुरगामी महत्त्वको विषयमा राष्ट्रिय सहमति हुँदा राम्रो हुने बताए। राष्ट्रिय सहमति नभएको अवस्थामा राजनीतिक द्वन्द्वकाे खतरा हुनेसमेत  उनले उल्ल्लेख गरे।

‘अहिले देशभित्र विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय महत्त्वका विषयमा छलफल र मतभिन्नताहरू प्रकट भइरहेका छन् । दुरगामी महत्त्व राख्ने राष्ट्रिय, अन्तर्राष्ट्रिय विषयमा राष्ट्रिय सहमति नहुँदा यसले राजनीतिक द्वन्द्व पैदा हुन सक्ने खतरा हुन्छ । यसले देशलाई राम्रो गर्दैन । यसमा हामीले विगतबाट पाठ पनि सिक्न सक्नुपर्दछ । म यसतर्फ सबै पक्षको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु’, उपराष्ट्रपति पुनले भने ।

उपराष्ट्रपति पुनले मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउनुपर्नेमा जोड दिए । मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउँदा सम्बन्धित समुदायलाई सरकारी सेवा लिन सहज हुने उनको भनाइ छ । भाषा आयोगले सिफारिस गरेअनुसार सम्बन्धित प्रदेशहरूमा मातृभाषामा सेवा दिन ढिलाइ नगर्न उनले ध्यानाकर्षण गराएका छन् ।

उपराष्ट्रपति पुनले मातृभाषाको लोप भएमा नेपालको मौलिक संस्कृति लोप हुने भएकाले मातृ भाषाको संरक्षण र संवर्द्धन गर्नुपर्ने बताए। मातृभाषाको संरक्षण गर्ने प्रमुख दायित्व सरकारकाे भएको बताउँदै उनले स्थानीय तहले मातृभाषामा पठनपाठनको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया